• १७ फागुन २०८१, शनिबार

चरैवेति, चरैवेति (कविता)

blog

हिँडिरहन बाध्य छन् गोडाहरू

म हिँडिरहेछु 

बिनाउद्देश्य, बिनागन्तव्य 

बाँकी रहेको जीवन बिताउन हिँडिरहेछु

एउटा शून्यको घेरामा फन्को मारिरहेछु 

न पाउनु केही छ 

न हराउनु केही छ 

न मायाको कुनै डोरी छ 

न प्राप्तिको कुनै आकाङ्क्षा छ 

पाइलाहरूमा निर्लिप्त भएर हिँडिरहेछु 

दिन जसरी पनि काटिँदो रहेछ, काटिरहेछु 

न भोक छ, न रोग छ, न शोक छ 

शून्य हत्केलालाई हेर्दै हिँडिरहेछु 

मनसँगै हराएको भाग्य खोज्नु छैन 

पाउनुपर्ने केही छैन 

हराउनुपर्ने केही छैन ।

सबै हराएपछि

के खोज्नु ? किन खोज्नु ?

ईष्र्याको भुसभुसे आगोभित्र पुरेर मलाई 

पुत्पुते धुवाँ आकाशमा उड्दा 

रमाउनेहरूलाई थाहा छैन 

म जलेको खरानीमा

दङ्ग भएर टेक्दै हिँड्नेहरूलाई

थाहा छैन

हाड र मासु त भर्खर मात्र 

खरानी भएको हो 

मन त पहिले नै 

खरानी भइसकेको मलाई 

अब बदला लिएँ भनेर 

मुसुमुसु हाँस्नुको के अर्थ 

मेरो हिँडाइमा 

के के न सार्थकता छ भनेर 

खासखुस खासखुस गरेर

अझै गोडा तान्नेहरू

बाहिर तेल र बेसारले सिँगारेर 

अचानोमा टुव्रmा टुव्रmा मासु काट्नेहरू

किमा मासु बनाउनेहरू 

मेरा यन्त्रवत् गोडामा

अर्थ खोज्नेहरू

मेरा निष्काम गतिमा 

गुप्तचरका आँखाले लखेटिरहनेहरू 

पानीमा हिँडिरहेका मेरा गोडाहरूका 

कुनै डोब छैनन् 

बिनाडोबलाई पनि भेट्न 

दौडिरहेका छालहरू

मेरा यी बेअर्थका चालमा 

समय खर्च नगर

अब तिमीहरूले मसँग लिनुपर्ने

केही छैन

रित्तो खल्तीमा हात हालेर 

रित्तो सडकमा, रित्तो मन लिएर 

रित्तो गोडा हिँडिरहेको मलाई 

निराकाङ्क्षामा जम्न देओ 

निष्काम भावमा डुब्न देओ 

निस्पृह चालमा रम्न देओ 

चरैवेति... चरैवेती...