• १७ फागुन २०८१, शनिबार

असिनापानीले कृषिबालीमा नोक्सान

blog

कैलालीमा परेको असिना । तस्बिर : सामाजिक सञ्जालबाट

अविनाश चौधरी
धनगढी, फागुन १७ गते ।
कैलालीमा शनिबार बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ । वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो ।

जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन् । असिनाले गहुँ र मसुरोलाई क्षति गरेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताउनुभयोे । उहाँका अनुसार खेतमा अहिले मसुरो पाक्न थालेको छ । यसैगरी, गहुँ पनि पाक्ने तयारीमा रहेको छ ।

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतको क्षेत्रमा असिना परेको जनाइएको छ । टीकापुर क्षेत्रमा करिब पाँच मिनेटसम्म असिना परेको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँले यो बेला गहुँ पसाउने क्रममा रहेकाले असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्ने बताउनुभयो । “त्यति धेरै क्षति त भएको छैन”, उहाँले भन्नुभयो, “तर, असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्छ ।”