प्युठान समाचारदाता
प्युठान, फागुन १७ गते । आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना अझै निर्माण हुन सकेको छैन । तीन करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५३ लाख ८३ हजार रुपियाँ मात्र बजेट खर्च भएको छ । चालु आवमा २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । योजना सम्पन्न गर्न अझै दुई करोड ९१ लाख ९१ हजार रुपियाँ बजेट आवश्यक पर्छ ।
निर्माणाधीन योजना समयमै पूरा नहुँदा बनेका संरचना जीर्ण हुँदै गएका छन् भने उपभोक्ताले पानीका लागि दुःख पाइरहेका छन् । मल्लरानी गाउँपालिका–४, बुढाचौरमा १४६ घरधुरी लाभान्वित हुने गरी योजना सुचारु भएपछि खुसी भएका स्थानीय अहिले निराश बनेका छन् । स्थानीय आरती विकले भन्नुभयो, “ट्याङ्की मात्र बनेको छ । पानी आउने कहिले हो ?” बर्सौंदेखिको पानीको दुःख हट्ला भनेर खुसी भए पनि चार वर्षसम्म योजना पूरा नहुँदा फेरि निराश हुनु परेको उहाँको गुनासो छ ।
गौमुखी गाउँपालिका–७, नारीकोटमा खानेपानीको चरम अभाव छ । खानेपानीको मूल नभएको उक्त वडामा लिफ्टमार्फत खानेपानी पु¥याउन २०७६ सालमा सात करोड ३३ लाख ५३ हजार रुपियाँको लागतमा लिफ्ट खानेपानी आयोजना सञ्चालन भएको हो । ४५१ घरधुरीमा खानेपानी पु¥याउने उक्त योजना अहिलेसम्म पूरा हुन सकेको छैन । योजना अधुरो हुँदा खानेपानी समस्या हल हुन नसकेको वडाध्यक्ष कोमल पुरीले बताउनुभयो ।
प्रदेश सरकार, सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानका अनुसार जिल्लामा सघन खानेपानी विकास कार्यव्रmम अन्तर्गत १७ वटा योजनालाई कार्यालयले जटिल प्रकारको योजनाका रूपमा वर्गीकरण गरेको छ । त्यसै गरी जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना (सङ्घ ससर्त अनुदान) अन्तर्गतका चार वटा योजना अधुरा छन् ।
ती योजनाको कुल लागत जनश्रमदानबाहेक ९५ करोड ४४ लाख ९० हजार रुपियाँ रहेको छ तर सरकारले ती योजनाका लागि हालसम्म २८ करोड एक लाख ३३ हजार रुपियाँ मात्र बजेट खर्च गरेको छ । योजनाका लागि आवश्यक लागतको आधाभन्दा पनि कम बजेट विनियोजन र खर्च भएको तथ्याङ्क छ । ती योजना सम्पन्न गर्न अझै ६३ करोड ७९ लाख ७१ हजार रुपियाँ बजेट आवश्यक पर्छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्युठानका प्रमुख राजकिशोर मण्डलले करोड रुपियाँ आवश्यक पर्ने योजनामा १०/२० लाख मात्र बजेट विनियोजन हुँदा समस्या भएको बताउनुभयो । आगामी आवमा सम्भव भए धेरैभन्दा धेरै योजना सम्पन्न गर्ने मन्त्रालयको योजना रहेको जानकारी आफूले पाएको कार्यालय प्रमुख मण्डलले बताउनुभयो ।