तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा कान्छी पत्नी बालकुमारीदेवीसँग सिंहदरबारको बार्दलीमा कुराकानी गर्दै हुनुहुन्थ्यो । महारानीले पश्चिमतर्फ देखिएको दरबारतर्फ औँलाले देखाउँदै “ऊ त्यो पर देखिएको बाघदरबार हो भने हाम्रो कुन दरबार हो ?” भनेर सोध्नुभएछ । चन्द्रशमशेरले फ्याट्टै “त्यो बाघदरबार हो भने, हाम्रो सिंहदरबार हो” भनिदिनुभएछ । भाइबहिनीहरूलाई पक्कै थाहा हुनु पर्छ बाघको राजा सिंह हो । खासमा चन्द्रशमशेरले आफू ठुलो हो भनेर फुर्ति लगाउन त्यस्तो भन्नुभएको थियो । त्यसपछि उहाँले आफ्नो दरबारको नाम सिंहदरबार राख्नुभएको भनिन्छ । हुन त चन्द्रशमशेरका काहिँला छोराको नाम सिंहशमशेर थियो । चन्द्रशमशेरले सिंहशमशेरलाई थापाथली दरबार दिनुभएको थियो । त्यसपछि थापाथली दरबारको नाम सिंहमहल राखियो । त्यो दरबार अहिले पनि छ । काठमाडौँ उपत्यकाभित्र रहेका केही दरबारको चर्चा गर्ने छौँ–
सिंहदरबार
मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार हो । सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्रीको कार्यालय छ । सिंहदरबार परिसरमा अहिले धेरै वटा भवन निर्माण गरिएका छन् र तिनमा विभिन्न मन्त्रालय रहेका छन् । त्यहाँ अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायतका विभिन्न मन्त्रालय छन् । रेडियो नेपाल र नेपाल टेलिभिजन पनि सिंहदरबार परिसरमा नै छ ।
राणाकालमा काठमाडौँमा आधुनिक तथा भव्य दरबारका रूपमा लालदरबार र सेतोदरबार थियो । चन्द्रशमशेरले तीमध्येका दरबार किन्ने योजना बनाउनुभयो तर विभिन्न कारणले किन्न सम्भव भएन । इन्जिनियर कुमारनरसिंह र किशोरनरसिंहले तीभन्दा भव्य दरबार बनाइदिने योजना चन्द्रशमशेरलाई सुनाउनुभयो । त्योबेला प्रतिरोपनी ९० रुपियाँका दरले ३५० रोपनी जग्गा किनेर सिंहदरबार बनाइएको इतिहासकार पुरुषोत्तमशमशेरले पुस्तकमा लेख्नुभएको छ । सरकारी रकमबाट सिंहदरबार बनाइएको थियो । निर्माण सकिएपछि चन्द्रशमशेरले त्यो भवन राज्यलाई बेच्दै आइन्दा त्यहाँ प्रधानमन्त्री रहने नियम बसाल्नुभयो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर चन्द्रशमशेरका जेठा छोरा हुनुहुन्थ्यो । २००७ सालमा राणा शासनको अन्त्यपछि मोहनशमशेरलाई त्यहाँबाट हटाइएको थियो । अहिलेसम्म त्यहाँ प्रधानमन्त्रीको कार्यालय रहँदै आएको छ ।
बागदरबार
काठमाडौँको सुन्धारानजिक बागदरबार छ । हाल यहाँ काठमाडौँ महानगरपालिका रहेको छ । भीमसेन थापाका बाबु अमरसिंह थापाले यो दरबार बनाउन लगाउनुभएको थियो । भीमसेन थापा मुख्तियार (प्रधानमन्त्री) हुँदा यसै दरबारमा बस्नु हुन्थ्यो । सुरुमा यसको नाम बाघदरबार थियो । त्यस दरबारको ठिक सामुन्ने एउटा खोर बनाएर बाघलाई पालिएको थियो । पछि खोर खाली नै थियो । सहिद शुव्रmराज शास्त्रीलाई झुन्ड्याउनुअघि त्यही खोरमा राखिएको थियो । बाघ पालिएको दरबार भएकाले बाघदरबार भन्ने गरिन्थ्यो । पछि अपभ्रंश भएर यसलाई बागदरबार भन्न थालियो । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि सरकारले यो दरबार किनेको थियो । धेरै वर्षसम्म यो दरबारमा अर्थ मन्त्रालय रहेको थियो ।
केशरमहल
चन्द्रशमशेरका साहिँला छोरा केशरशमशेरको दरबार भएकोले केशरमहलको नामले प्रसिद्ध छ । नारायणहिटी दरबार सङ्ग्रहालयको ठिक पश्चिमतर्फ केशरमहल छ । यो दरबारलाई चन्द्रशमशेरले नै बनाउन लगाउनुभएको थियो । केशरशमशेर बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ किताब पढ्न निकै रुचाउनुहुन्थ्यो । त्यसैले विदेशमा जानुभएका बेला पनि प्रशस्त किताब किन्ने गर्नु हुन्थ्यो । कतिपय किताब विदेशबाट पनि मगाउने गर्नु हुन्थ्यो । उहाँसँग हजारौँ किताब थिए । केशरशमशेर चित्रकलामा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । उहाँको निधनपछि परिवारले पुस्तक तथा चित्रकलासमेत सो भवन सरकारलाई दिनुभयो । सो भवनको पुनर्निर्माण गरिएको छ । अहिले यो दरबारको अघिल्तिर भव्य बगैँचा पनि तयार गरिएको छ ।
शीतलनिवास
चन्द्रशमशेरले आफ्ना छोराका लागि थुप्रै दरबार बनाइदिनुभएको थियो । शीतल निवास उहाँका छोरा कृष्णशमशेरका लागि बनाइएको थियो । यो दरबार १९८० सालमा निर्माण गरिएको थियो । १९९० सालको महाभूकम्पमा यो दरबारमा पनि क्षति भयो । पुनर्निर्माण गरिएको थियो । राणा शासन रहेकै बेला कृष्णशमशेरले पदबाट राजीनामा दिनुभयो र शीतल निवास सरकारलाई दिँदै भारतको बेङ्लुरुमा बसाइँ सर्नुभयो । उतै उहाँको निधन भयो । यो दरबारमा लामो समयसम्म परराष्ट्र मन्त्रालय रहेको थियो । मुलुकमा गणतन्त्र स्थापना भएपछि यो दरबारलाई राष्ट्रपतिको कार्यालय बनाइएको छ ।
बबरमहल
काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वर जाने बाटोमा दायाँतर्फ भव्य दरबार देख्न सकिन्छ । त्यो नै बबरमहल हो । चन्द्रशमशेरका माहिला छोरा बबरशमशेर हुनुहुन्थ्यो । आफ्ना छोराका लागि चन्द्रशमशेरले यो दरबार बनाउन लगाउनुभएको हो । दरबार बनेपछि बबरशमशेरका नामबाट यसको नाम राखिएको थियो । अचेल त्यस ठाउँ वरपरको नाम नै बबरमहल भन्ने गरिएको छ । १९९० सालको भूकम्पबाट क्षति भएको यो दरबारलाई पुनः मर्मत गरिएको थियो । २०७२ सालको भूकम्पले पनि क्षति पु¥याएपछि यो दरबारको पुनर्निर्माण गरिएको छ । बबरशमशेर पनि भारतको बेङ्लुरुमा बसाइँ सरेपछि यो दरबार नेपाल सरकारले लिएको थियो । पहिले यहाँ यातायात मन्त्रालय र महालेखा परीक्षकको कार्यालय रहेको थियो भने हाल सडक विभाग छ ।
बहादुर भवन
रानीपोखरीबाट केशरमहल जाँदा बायाँतर्फ भव्य दरबार देख्न सकिन्छ । ठुलो चौर भएको त्यो दरबारमा निर्वाचन आयोग लेखिएको देख्न सकिन्छ । त्यो दरबार बहादुर भवन हो । सुरुमा यो दरबारको नाम चारबुर्जेदरबार थियो । यो दरबारमा चार वटा बुर्जा थियो । घरको माथिल्लो तलामा बनाइने गोलाकार कोठा वा गुम्बजलाई बुर्जा भनिन्छ । तत्कालीन प्रधानमन्त्री वीरशमशेरले यो दरबार निर्माण गर्न लगाउनुभएको थियो । उहाँका काहिँला छोरा रुद्रशमशेरलाई यो दरबार दिइएको थियो । प्रधानमन्त्री जुद्धशमशेरले रुद्रशमशेरलाई पाल्पा लखेटेपछि आफ्ना छोरा बहादुरशमशेरलाई यो दरबार दिनुभयो । त्यसपछि यो दरबारको नयाँ नाम बहादुर भवन राखियो । राणा शासन अन्त्य भएपछि राजा त्रिभुवनका छोरा वसुन्धराले यो दरबार किन्नुभएको थियो र त्यहाँ केही समय होटेल रोयल सञ्चालन भएको थियो । नेपालमा खुलेको पहिलो भव्य होटेल नै यही थियो । पछि नेपाल सरकारले यो दरबार किन्यो । हाल यहाँ निर्वाचन आयोगको कार्यालय छ ।
ललिता निवास
बालुवाटारमा नेपाल राष्ट्र बैङ्क रहेको भवन देख्नुभएको छ ? त्यो दरबारको नाम ललिता निवास हो । यो दरबार पनि भव्य छ । तत्कालीन प्रधानमन्त्री भीमशमशेरका नाति सुवर्णशमशेरको दरबार हो यो । सुवर्णशमशेरको नाम नेपालको राजनीतिक इतिहासमा पढ्न पाइन्छ । उहाँ नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । प्रजातन्त्र स्थापनाका लागि भएको व्रmान्तिमा सुवर्णशमशेर र उहाँका पिता हिरण्यशमशेरको पनि योगदान छ । २०१६ सालमा मुलुकमा पहिलो पटक आमनिर्वाचन भएको थियो । २०१७ सालमा जननिर्वाचित सरकार गठन भएको थियो । सुवर्णशमशेर उपप्रधानमन्त्री हुनुभएको थियो । २०१७ सालमा प्रजातान्त्रिक व्यवस्थामाथि प्रतिबन्ध लगाइएको थियो । त्यस घटनापछि सरकारले ललिता निवास आफ्नो कब्जामा लियो । त्यहाँ नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयलाई राखियो । २०७२ सालको भूकम्पले ललिता निवास पनि क्षतिग्रस्त भयो । अहिले पुनर्निर्माण गरिएको छ ।
सिंहमहल
तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले थापाथलीमा नयाँ दरबार निर्माण गर्न लगाउनुभएको थियो । १९११ सालमा त्यो दरबार आफ्ना छोरा जगतजङ्गलाई दिनुभयो । पछि जगतजङ्गले मनहरा दरबार निर्माण गर्न लगाएर आफू त्यहाँ सर्नुभयो र छोरा युद्धप्रतापजङ्गलाई थापाथली दरबार दिनुभयो । युद्धप्रतापले जन्मिँदै सेनाको जनरल पद पाउनुभएको थियो । त्यसैले उहाँलाई ‘नाति जर्नेल’ भनिन्थ्यो । उहाँको हत्यापछि त्यो दरबार चन्द्रशमशेरले कब्जा गर्नुभयो । चन्द्रशमशेरले आफ्ना साहिँला छोरा सिंहशमशेरलाई त्यो दरबार दिनुभयो र त्यसको नाम सिंहमहल राखियो । पछि सिंहशमशेरले सरकारलाई बिव्रmी गर्नुभयो । हाल त्यस भवनमा नेपाल राष्ट्र बैङ्कको शाखा रहँदै आएको छ । २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको त्यो भवनको अहिले पुनर्निर्माण गरी भव्य बनाइएको छ ।
जावलाखेल दरबार
अन्य दरबार बाटामा हिँड्दा सजिलै देख्न पाइन्छ तर ललितपुरको जावलाखेल दरबारलाई बाटोबाट देख्न कठिन हुन्छ किनकि यो दरबार बाटोबाट केही भित्र छ । १९५४ सालमा जावलाखेल दरबार बनाइएको थियो । यो दरबार जुद्धशमशेरको हो । जुद्धशमशेर प्रधानमन्त्री भएका बेलामा पनि उहाँ यसै दरबारमा बस्नु हुन्थ्यो । कामकाज गर्न हात्ती वा गाडीमा बसेर सिंहदरबार आउजाउ गर्नु हुन्थ्यो । यो दरबार उहाँका छोरा सूर्यशमशेरले प्रयोग गर्नुभयो । १९९० सालको भूकम्पले यो दरबारलाई पनि क्षति पुर्याएको थियो । राणा शासनको अन्त्य भएपछि यो दरबारमा क्लब सञ्चालन गरिएको थियो । क्लबमा नाचगान, खानपिन हुन्थ्यो । पछि सरकारले यो दरबार किन्यो । कुनै बेला यहाँ भूमिसुधार विभाग थियो । हाल नेपाल प्रशिक्षण प्रतिष्ठानको कार्यालय छ । यो कार्यालयले नेपाल सरकारका कर्मचारीलाई तालिम दिने गर्दछ ।
हरिहरभवन
ललितपुरमा हरिहरभवन भन्ने ठाउँको नाम सुन्नु भएको छ होला हैन ? हो, यहाँ हरिहरभवन नामक दरबार रहेकोले यो क्षेत्रको नाम नै हरिहरभवन रहन गएको हो । चन्द्रशमशेरले आफ्ना छोरा शङ्करशमशेरलाई यो भवन बनाइदिनुभएको हो । यो दरबार पनि १९९० सालको भूकम्पमा परेर क्षति भएको थियो । पछि पुनर्निर्माण गरियो । शङ्करशमशेर बेलायतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो । राणा शासन हटेपछि पनि उहाँ उतै बस्नुभयो र उतै उहाँको निधन भयो । नेपाल सरकारले हरिहरभवनलाई प्राप्त गर्यो । २०७२ सालको भूकम्पपछि त्यो भवन काम नलाग्ने गरी क्षतिग्रस्त भयो । अहिले पनि पुनर्निर्माण गरिएको छैन । दरबारमा हरिहरको मूर्ति भएकाले दरबारको नाम हरिहरभवन रहेको हो ।
लालदरबार, रवीभवन, श्रीदरबार, लक्ष्मीनिवास, टङ्गाल दरबार, श्रीमहललगायतका दरबार अझै छन् । सेतोदरबार, थापाथलीको चारबुर्जे दरबार, मनोहरा दरबार, फोहरा दरबार, नारायणहिटी दरबारलगायतका थुप्रै दरबार भत्काइसकिएको छ । हाल रहेको नारायणहिटी दरबार राणाकालीन होइन । जङ्गबहादुरका वास्तुविद् (इन्जिनियर) रणसुर विष्ट हुनुहुन्थ्यो । वीरशमशेरका वास्तुविद् जोगलाल स्थापित (भाजुमान) हुनुहुन्थ्यो । औपचारिक रूपमा इन्जिनियरिङ विषय पढ्नुभएका किशोरनरसिंह र कुमारनरसिंहले थुप्रै दरबारको निर्माण गर्नुभयो । राजा त्रिभुवनले इन्जिनियर सूर्यजङ्ग थापालाई प्रयोग गर्नुभयो ।
प्रस्तुति : राजेन्द्र श्रेष्ठ