• १७ फागुन २०८१, शनिबार

राष्ट्रपति पौडेल आज सराङकोट धाम आउनुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन १७ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा आउँदै हुनुहुन्छ । पोखरा–१८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न उहाँ पोखरा आउन लाग्नुभएको हो ।

राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौंबाट सिधै सराङकोट धाम झर्ने तय भएको छ । उहाँले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय, १०८ शिललिङ तथा धाराहरु समेत उद्घाटन गर्ने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो ।

समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्बोधन गर्नुहुने तय छ ।

सराङकोटमा राष्ट्रपति आउने तय भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायमा प्रमुखहरुले सुरक्षा अवस्थाको जानकारी दिइसक्नुभएको छ ।

सराङकोटमा फागुन १४ गते शिवरात्रिदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिन शुक्रबारसम्म ६५ लाख दान सङ्कलन भएको छ । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।

हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनिसकेका छन् ।

यी संरचना निर्माणमा हालसम्म ३५ करोडभन्दा बढी खर्च भइसकेको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिको योजना छ ।