आरोनजङ्ग ओझा
कक्षाः २, काठमाडौँ युरो आइबी वल्र्ड स्कुल
बानियाँटार
नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा परिवारका साथ घुम्न गएँ । हामी गाडीबाट गएका थियौँ । काठमाडौँबाट सौराहा पुग्न पाँच घण्टा लाग्यो । म र मेरी बहिनी पहिलो पटक सौराहा गएको हुँदा धेरै खुसी थियौँ ।
हामी सौराहा पुग्दा साँझ परिसकेको थियो । साँझ परिसक्दा पनि सौराहा बजार उज्यालो थियो । हामी सौराहामा दुई दिनसम्म घुम्यौँ । सौराहा बजार राप्ती नदीको किनारामा रहेछ । नदीमा डुङ्गा चढ्न पनि पाइँदो रहेछ । हामीले पनि डुङ्गाको मजा लिएका थियौँ तर साथीहरू डुङ्गा चढ्दा होसियारपूर्वक चढ्ने गर्नु पर्छ । चकचक गर्नु हुँदैन । नदीमा खस्न सक्ने भएकाले ध्यान दिनु पर्छ ।
नदी किनारामा बसेर रेस्टुरेन्टको मिठो मिठो खानेकुरा खाँदै सूर्य अस्ताएको र डुङ्गा चलाएको दृश्य हेर्न सकिन्छ । मैले खाजा र जुस खाँदै गर्दा खोलामा गोही र चखेवाको जोडी पनि देखेको थिएँ । धेरै विदेशी पर्यटकले जङ्गल सफारी गरेको पनि देखेँ ।
सौराहामा धेरै हात्ती रहेछन् । मान्छेले पालेको हात्ती ज्ञानी हुँदो रहेछ । मलाई हात्ती चढ्दा सबैभन्दा रमाइलो लागेको थियो । मैले पहिलो चोटि हात्ती चढेको हुँ । हात्ती धेरै ठुलो हुँदो रहेछ । हात्ती चलाउने मान्छेलाई माहुते भनिँदो रहेछ । माहुते दाइले भन्नुभएको मैले चढेको हात्तीको नाम समृद्धकली हो । हात्तीलाई उसको नामबाट बोलाउने गरिँदो रहेछ । म हात्ती चढ्न धेरै उत्साहित थिएँ । म, बहिनी, मामु र बाबा हात्ती चढेर जङ्गलमा घुम्न गयौँ । हामी चढेको हात्तीसँगै अरू हात्ती पनि गएका थिए । ती हात्तीमा विदेशी चढेका थिए । वन हात्तीले आक्रमण गर्न सक्ने भएकाले पालुवा हात्तीसँगै सफारीमा लगिँदो रहेछ । हात्ती चढेपछि चल्नु हुँदैन ।
वनमा पुगेपछि हल्ला गर्न नहुने रहेछ । हल्ला गरियो भने अरू वन्यजन्तु र चराचुरुङ्गी भाग्ने भएकाले शान्त हुनुपर्ने रहेछ । जङ्गलमा गैँडा, मृग र अरू जनावर पनि देखिए । हात्ती चढ्दा वनका रुखमा ठोकिन सक्ने भएकोले विचार पु¥याउनु पर्छ । एउटा हात्तीमा चार जना चढ्न सकिने रहेछ । सौराहामा हात्ती प्रजनन केन्द्र र सङ्ग्रहालय पनि घुम्न सकिन्छ । प्रजनन केन्द्रमा साना हात्तीका बच्चा पनि राखिएको छ ।
सङ्ग्रहालयमा विभिन्न जानकारीमूलक सामग्री राखिएको छ । सौराहामा साँझ ७ बजेपछि थारू संस्कृतिको मजा लिन सकिन्छ । हामीले पनि थारू नाचको मजा लिएका थियौँ ।