• १९ चैत २०८१, मङ्गलबार

शिक्षालाई दलमुक्त बनाऔँ

blog

शिक्षालाई दलीय राजनीतिबाट पृथक् राख्नु पर्छ भन्नेमा सबैको सहमति हुन्छ । शिक्षक राजनीतिक दलमा सक्रिय हुन नहुने सर्वोच्च अदालतले समेत स्वीकारेको छ । सरकारले शिक्षा ऐनमा शिक्षक वा प्राध्यापकले राजनीतिक दलमा सक्रिय हुन नपाउने विषयलाई अझै किटान गर्न सकिरहेको छैन । प्राध्यापक र शिक्षक राजनीतिक दलमा सक्रिय हुन नपाउने व्यवस्था शिक्षा ऐनमै उल्लेख होस् भन्ने विषय जोडतोडका साथ उठिरहेको छ । शिक्षा क्षेत्रलाई सेवामूलक बनाउनुपर्ने र विद्यालय शिक्षाको अधिकार स्थानीय तहमै रहनुपर्ने सुझाव विषय हालै राजधानीमा भएको शिक्षाविद्को भेलाले दिएको थियो ।

शिक्षकले विद्यार्थीलाई प्रदान गर्ने सेवा उत्कृष्ट, सम्मानित र जन विश्वास योग्य हुनु प¥यो । कुनै गुट, उपगुट, राजनीतिकवाद र प्रतिवादको सोचबाट माथि उठ्नु प¥यो । हरेक शिक्षकले सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालय वातावरणलाई सुरक्षित एवं विद्यार्थीमैत्री बनाउने सोच लिएर शिक्षालयमा प्रवेश गरेको हुनु पर्छ । विद्यालयमा विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गरी त्यहाँका हरक्रियाकलापमा समुदाय र अभिभावकलाई संलग्नता गराइनु पर्छ । कुनै राजनीतिक दलवादी शिक्षक भएमा गैरदलीय विचारका विद्यार्थी वा अभिभावकलाई स्वीकार्य हुँदैन । एउटा दलको शिक्षक भएमा त्यहाँ अन्य दलका विचार राख्ने विद्यार्थी वा अभिभावक हुन सक्छन् । त्यो अवस्थामा विद्यालयमा द्वन्द्व निम्तिन सक्छ । यसर्थ विद्यालय राजनीतिक दलीय क्रियाकलापबाट टाढा रहनु जरुरी छ । विद्यालयका शिक्षक हुन् वा विश्वविद्यालयका प्रध्यापक, तिनलाई दलीय राजनीतिबाट रोक लगाउँदा शैक्षिक वातावरण अनुकूल हुने छ । 

विद्यालय शिक्षामा विश्वविद्यालय शिक्षाको ठुलो प्रभाव परेको हुन्छ । यसर्थ शिक्षा सुधार र परिवर्तनका कुरा गर्दा माथिदेखि नै सुधार भएर आउनु पर्छ । शिक्षाको जग प्राथमिक तह नै हो । यसर्थ शिक्षाको आधार पनि प्रारम्भिक तहबाटै खडा गर्नु पर्छ । हाम्रा शिक्षक माथिका विश्वविद्यालयमा शिक्षकको गतिविधिलाई अनुशरण गर्न खोज्छन् । 

प्राज्ञिक क्षेत्रलाई राजनीतिबाट मुक्त राखी गैरनाफामूलक बनाइनु पर्छ । शिक्षालाई वैज्ञानिक, व्यावसायिक र रोजगारमूलक बनाउनु जरुरी छ । हुन त शिक्षाले कहिलेसम्म रोजगारी सिर्जना गर्छ त्यो सहजै भन्न सकिने कुरा भएन । व्यावसायिक र रोजगारमूलक शिक्षा प्रदान गरेमा बेरोजगारीको समस्या कम हुँदै जाने छ । शिक्षा क्षेत्रको सुधारबिना उपरोक्त कुरा सम्भव देखिँदैन ।

हुन त हाल मुलुकको जनसङ्ख्या संरचना बदलिएको पाइन्छ । जनसङ्ख्या वृद्धिदर घट्दो छ, त्यसमा पनि युवा भन्दा वृद्धवृद्धाको सङ्ख्या बढी देखिन्छ । काम गर्ने जमातको अभावमा भोलि देशले अर्को जटिल समस्या बेहोर्न पर्ने हुन्छ । आज अधिकांश युवा विदेश पलाएन भइरहेका छन् । ती युवा विदेशमा स्तरय शिक्षा पाउने आशामा नै गएका हुन् । बिदेसिएका युवा पढाइ सकेर त्यतै अड्किएर बस्ने गरेका छन्, किनकि उनीहरूलाई जुन देशमा गएको हो त्यही देशले अड्काएर राख्छ । गएदेखि नै आफूले प्रयोग गरेको सुविधाको किस्ताले त्यसै बस्न विवस बनाउँछ । जुन देशमा हाम्रा होनहार प्रतिभा पलाएन भएका छन्, ती देशले विश्वलाई नै उपनिवेश बनाएर शक्ति र समृद्धि जोगाएरै राखेका छन् । तिनै देश ज्ञान र सिप निर्माणमा अगुवा ठहरिएका छन् । 

विगत ३५ वर्षमा नेपालमा ठुला ठुला राजनीतिक परिवर्तन भए । मुलुकको विकास निर्माणको पाटो सधैँ पछाडि पर्‍यो । राजनीतिक र प्रशासकीय वृत्तमा पनि परिवर्तन आउन सकेन । पछिल्लो समय त दोष जति शिक्षालाई दिन कोही पछि परेनन् । हुन त शिक्षालाई नियमित उद्यमशीलता तर्फ उन्मुख गराउन सकिएन । फलस्वरूप देशमा औद्योगिकीकरण भएन । युवा जनशक्तिलाई रोजगारीका अवसर जुटेनन् । त्यसैले त देशको उर्वर युवा शक्ति पलाएन बढ्दो छ । अब पनि उद्यमशील शिक्षामा ध्यान नदिने हो भने देश धेरै पछाडि पर्ने छ । 

आज हाम्रा युवा जनशक्ति अवसर पाए अझै देशमा जागिर खाने थिए, नपाएरै विदेश गएका हुन । यथास्थितिमा पुरातनवादी सैद्धान्तिक ज्ञानको घोकाइको बाहुल्य रहेको शिक्षा व्यवस्थाले दीक्षित गरेका वा सिकाएका ज्ञानले कसरी सिपयुक्त र उद्यमशील वन्ने ? विद्यालय शिक्षामा उद्यमशीलतासम्बन्धी सिप सिकाइको आवश्यकता छ । यसलाई क्रमैसँग उच्च शिक्षासम्म लैजानु जरुरी छ । अनि तिनले आफैँ अवसरको खोजी गर्ने र स्वउद्यम सञ्चालन गर्ने सोचको विकास गर्ने छन् । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादन र उत्पादनलाई बजारसँग जोडेर स्वावलम्बी नागरिक बनाउने शिक्षा नै आजको खाँचो हो ।

विद्यालयमा विद्यार्थीलाई ध्यान दिएर पढाउने आफ्ना विद्यार्थीको गृहकार्य परीक्षण गर्ने, तिनलाई राम्रो बाटो देखाउने, पाठ्यपुस्तकका साथै अन्य राम्रा नयाँ नौलो विषयका बारेमा ज्ञान दिने नबुझेका कुरा बुझाउने सिर्जनशीलता उन्मुख गराउने व्यक्ति नै राम्रो शिक्षक हो । यस्ता शिक्षकले विद्यार्थीलाई राम्रोसँग चिन्ने र उसको मन बुझ्ने गरी व्यवहार गर्ने हो । शिक्षकले विद्यार्थीलाई जस्तो ज्ञान दियो त्यस्तै बन्ने हुन् । समाज, विद्यालय परिवारले राम्रो र सही ज्ञान र सिप सिकाउन सक्यो भने विद्यार्थी गुणी र उद्यमी बन्न सक्छ । 

विद्यार्थीले विद्यालय, समाज आइपरेको वातावरण साथीभाइ, त्यहाँको संस्कार, संस्कृति, शिक्षा दीक्षा, रीतिरिवाज जे जस्तो उसले देख्छ, सिक्छ त्यही नै उसमा प्रतिविम्बित हुने हो । समाजभन्दा अब्बल नागरिक भेटिन कठिन हुन्छ । आजको प्रविधिले नियमन गरेको समाज निकै जटिल भइसकेको छ । ज्ञानको भण्डार रफ्तारमा बढी रहेको छ । आजका विद्यार्थी र हिजोका विद्यार्थीमा ठुलो अन्तर छ । हरेक विषयको सोचाइ, गराइ, बुझाइमा निक्कै अन्तर छ । ज्ञानको स्रोतको भण्डारै फरक छ । हिजो स्रोत शिक्षक थिए, आज ज्ञानको स्रोत अनेक छन् । यसरी समय बदलिएको छ । तरिका बदलिएको छ ।

शिक्षकले पढाउने विषयमा नयाँ, ज्ञान, सिप तथा प्रविधिको प्रयोग गर्नु पर्छ । अनि मात्र विद्यार्थीले शिक्षकको पढाइप्रति रुचि दर्शाउँछन् । शिक्षकले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा जनप्रतिनिधिसँग सकारात्मक संवाद गर्न आवश्यक छ । शिक्षक आफूले पढाउने विषयमा कत्तिको जान्ने छ ? नयाँ नयाँ प्रविधिसँग आफूलाई कसरी जोड्ने गरेको छ ? यसका लागि चाहिने आवश्यक तालिम, सेमिनार र विज्ञसँगको छलफल सुझाव लिने गरेको छ ? आदि जस्ता विषयको दायित्वबोध हुनु जरुरी छ ।

शिक्षाको बृहत् अर्थ कमजोरीलाई बुझेर सो अनुसार सुधारतर्फ जाने हो । हाम्रा साना कक्षाबाट कमजोर भएको सिकाइ माथिल्लो कक्षामा गएर कसरी सुधार हुन सक्छ ? अङ्क थप गर्दै कक्षा चढाउने, सिकाइ थप नहुने हाम्रो कक्षान्नोति प्रथाले के सुधार गर्‍यो ? यस्ता विषयमा शिक्षण सिकाइको अभ्यासलाई नै जोडदिने गर्नु पर्छ । सानो कक्षामा सुधार प्रयास नगर्नु एकै चोटि १० कक्षामा नतिजा सुधारको प्रयासले सफलता हाल लाग्दैन । शिक्षालाई वैज्ञानिक, व्यावसायिक, सिपयुक्त र रोजगारीमा आधारित नबनाई शिक्षाको प्रयोजन देखिँदैन, त्यस कारण पनि शिक्षालाई दलीय राजनीतिबाट मुक्त राख्न जरुरी छ ।