• १५ फागुन २०८१, बिहिबार

साहित्य मञ्च र भित्ते पत्रिका

blog

रविना पाख्रिन

कक्षाः ९, जनउद्धार माध्यमिक विद्यालय

बुढानीलकण्ठ, काठमाडौँ 

मेरो विद्यालय काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ मा पर्छ । सुन्दर, शान्त र हरियाली वातावरणमा रहेको हाम्रो विद्यालयका गतिविधि पनि सुन्दर हुने गर्छन् । ती गतिविधिमध्ये एउटा राम्रो कार्यक्रम भित्ते पत्रिक्रा प्रकाशन पनि हो । विद्यार्थीमा विभिन्न क्षमता रहेका हुन्छन् । कसैलाई खेल मन पर्छ, कसैलाई नाच्न गाउन मन पर्छ, कसैलाई कथा, कविता, लेख लेख्न र पढ्न मन पर्छ । हामी दिनभरि विद्यालयमा रहने हुँदा हामीभित्र रहेका प्रतिभा विकास गर्ने, प्रतिभा प्रदर्शन गर्ने ठाउँ भनेको विद्यालय नै हो । खेल, चित्रकला, गायन, नृत्य जस्ता कार्यक्रम त धेरै विद्यालयमा धेरै पटक हुने गर्छन् तर साहित्यसँग सम्बन्धित कार्यक्रम कम हुने गर्छन् । 

हामी केही विद्यार्थीको रुचिलाई देखेर विद्यालयले साहित्य मञ्च गठन गरिदिएको छ । विसं २०८० वैशाखमा हाम्रो विद्यालयमा जनउद्धार विद्यार्थी साहित्य मञ्च गठन भएको हो । हरेक वर्ष यसलाई पुनर्गठन गर्ने गरिएको छ । म अहिले साहित्य मञ्चको अध्यक्षको जिम्मेवारीमा छु । यसै साहित्य मञ्चमा आबद्ध भएका विद्यार्थीको पहलमा भित्ते पत्रिका प्रकाशन हुने गर्दछ । भित्ते पत्रिकामा विद्यार्थीका कथा, कविता, निबन्ध, गीत, चित्रकला प्रकाशन हुने गर्दछ । 

भित्ते पत्रिकाका लागि हामी पहिला विद्यार्थीबाट कविता, निबन्ध, लेख सङ्कलन गर्छौं । अनि भाषाको शुद्धाशुद्धि हेर्नका लागि गुरुआमालाई दिन्छौँ । कुनै दिन समय मिलाएर हामी सबै विद्यार्थी एउटा कोठामा बसेर रङ्गीन कागजमा हाम्रा रचनालाई राम्रोसँग मिलाएर लेख्छौँ । 

साहित्य मञ्चले हाम्रो लेख रचना सुनाउने अवसर पनि दिने गरेको छ । प्रतिभा प्रस्तुतीकरण कार्यक्रम आयोजना गरेर हामी आआफ्ना रचना वाचन गरेर साथीहरूलाई सुनाउँछौँ । सोही महिनाको अन्तिम शुक्रबार अथवा महत्वपूर्ण अवसर पारेर बुलेटिन बोर्डमा टाँस गरी भित्ते पत्रिका प्रकाशन गर्छौं । विद्यालयका सबै विद्यार्थीले यो पत्रिका हेर्न र पढ्न पाउनुहुन्छ । विद्यालयमा रहेका चार वटै सदनबाट सबै विधालाई समेटेर भित्ते पत्रिकाका सामग्री तयार पारी प्रकाशन गर्ने गरिएको छ । जुन सदनले सबैभन्दा राम्रो भित्ते पत्रिका प्रकाशन गर्दछ, त्यो सदनलाई पुरस्कृत गर्ने गरिएको छ । 

यस भित्ते पत्रिका प्रकाशनका माध्यमबाट साहित्य मञ्चमा रहेका सदस्य मात्र नभएर विद्यालयका सम्पूर्ण विद्यार्थीमा सकारात्मक प्रभाव परेको छ । साहित्य क्षेत्रमा विद्यार्थीको रुचि बढेको छ । विभिन्न पक्षका सिपको विकास भएको महसुस भएको छ । यसबाट हामीमा भाषाको विकास भएको छ । आफ्ना भावना तथा विचारलाई रचनामार्फत प्रस्तुत गर्ने अवसर र स्थान पाएका छौँ । 

साहित्य मञ्चले हाम्रो जिम्मेवारी बढाएको छ । हाम्रो लेखाइ क्षमता बढेको छ । वक्तृत्वकला तथा वादविवादमा भाग लिन सहयोग पुगेको छ । समूहमा काम गर्ने बानीको विकास भएको छ । नेतृत्व क्षमता बढाउने अवसर पाएका छौँ । 

भित्ते पत्रिका प्रकाशनले हामीमा गज्जबको आत्मबल बढेको छ । हाम्रो मात्र नभई हरेक विद्यालयमा मासिक रूपमा भित्ते पत्रिका प्रकाशन गर्ने वातावरण बनोस् जसमा हामी जस्तै विद्यार्थीले आफ्ना प्रतिभा विकास गर्ने अवसर पाऊन् ।   

  मुना