• १५ फागुन २०८१, बिहिबार

ठेकेदार सम्पर्कमा आएपछि काम सुरु

blog

नवलपरासी समाचारदाता

कावासोती, फागुन १५ गते । कालीगण्डकी कोरिडोरको गैँडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदारले चार वर्षपछि खोलामा पुल निर्माण गर्ने भएको छ । पुल निर्माण हुने भएपछि स्थानीय खुसी भएका छन् ।

खोलामा पक्की पुल नबनाई बेपत्ता भएका ठेकेदार चार वर्षपछि सम्पर्कमा आई अहिले पुल निर्माणका सामान खोलाकिनारमा झार्न थालेपछि पुल बन्ने आशा पलाएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । कालीगण्डकी कोरिडोरमा रहेका खोलामा सबै ठाउँमा पक्की पुल निर्माण सम्पन्न भइसक्दा पनि तरङ्गाखोलामा पुल बन्न सकेको थिएन । चार वर्षअगाडि ठेक्का पाएको लोहनी ब्रदर्स चितवनका ठेकेदार अशोक लोहनी खोलाका दुबैतिर काम रोकेर एकाएक सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल नबनेर अलपत्र परेर सम्पर्कबिहीन भएका ठेकेदार अहिले भने पुल बनाउन कस्सिएर आएका छन् ।  

३२ पटकसम्म प्रशासनको ध्यानाकर्षण गराए पनि प्रशासनले समेत बेवास्ता गर्न थालेको भन्दै स्थानीय बुलिङटारका युवाले वैकल्पिक यात्राका लागि कलभर्टसमेत व्यवस्था गरी यातायातका साधन आवतजावत गराउन सहयोग गरेको बुलिङटारका स्थानीय शिक्षक लोकप्रसाद रामदामले बताउनुभयो ।  पुल निर्माणको जिम्मेवारी पाएको लोहनी ब्रदर्सले काम पूरा नगरेको मात्र होइन, स्थानीयसँग लिएको सामानको रकम तिर्न बाँकी रहेको र चार वर्षदेखि खातामा पैसा नभएको चेक दिने, पैसा माग्दा धम्क्याउने र उल्टै स्थानीयलाई पैसा तिर्नुको साटो अनेक आरोप लगाएकाले स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएको बुलिङटार–३ का वडाध्यक्ष विष्णुवीर जर्घामगरले बताउनुभयो । आफूहरूले सो पुलको सामान बोकेको र चार वर्षदेखि पैसा नदिएको भनी स्थानीयले पुल निर्माणका लागि ठेकेदारले ल्याएका सामान स्थानीयले उठाएर राख्न बाध्य भएको बताउनुभयो । पटक पटक काम गरेको पैसा माग्दा जालझेल गरी दुःख दिन थालेपछि स्थानीय सामान उठाउन बाध्य भएको र पैसा भुक्तानी दिनासाथ ठेकेदारको सामान जस्ताको तस्तै उठाएको ठाउँमा पु¥याइदिने वडाध्यक्ष मगरले बताउनुभयो । तीन करोड ११ लाख रुपियाँको लागतमा निर्माण सुरु भएको सो पुलको अहिले चार वर्षमा दुवैतिर पिल्लर उठाउने काम भएको छ । अरू धेरै काम बाँकी रहेको स्थानीयले बताएका छन् । एक वर्षमै निर्माण सक्नुपर्ने पुलको म्याद थप्दै चार वर्ष बित्दा पनि सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो । 

अहिले कालीगण्डकी कोरिडोरमा सवारीसाधन चल्ने दर निकै बढ्दै गएको छ । एउटा मात्र पुल बन्न नसक्दा यो सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आइरहेका र प्रशासनले चाँडो सम्बन्धित ठेकेदारलाई बोलाएर काममा विलम्ब नगर्न निर्देशन दिएको छ । ठेकेदार कम्पनीले आगामी असार मसान्तभित्र काम सम्पन्न गरिसक्ने र उठाइएको सामान फिर्ता ल्याएपछि काम सुचारु गर्ने जनाएको छ ।