• १४ फागुन २०८१, बुधबार

महाशिवरात्रिको माहात्म्य

blog

शिव भन्नेबित्तिकै हामी हातमा त्रिशूल लिएको, जटाधारी, बाघको छाला ओडेको, शिरमा चन्द्रमा भिरेको, गलामा सर्पको माला लगाएको, शरीरमा खरानी धसेको अनि शिरबाट अटुट गङ्गा बगेको अचम्मलाग्दो प्राणीको कल्पना गर्छौं । के शिव साँच्चै त्यस्तो अद्भूत प्राणी होला त ? कसै कसैले शिवलाई १५ हजार वर्षअघिको एक महायोगी भनेर पनि चिनाउने गरेका छन् तर वास्तवमा शिव कुनै मानिस, महामानव वा भीमकाय प्राणी नभई तìव हो, सूक्ष्मभन्दा पनि अति सूक्ष्म तत्व । काश्मिरी शैव मत अनुसार यस सृष्टिमा रहेका ३६ मूल तत्वमध्ये शिव सबैभन्दा सूक्ष्म तत्व हो, अझ उनीहरू त्यसलाई परम शिव भन्छन् । पृथ्वी सबैभन्दा ठोस तìव हो, भने त्यसपछि, जल, अग्नि, वायु, आकाश गरी ३६ औँ तत्व चाहिँ शिव तत्व हो ।

शिवको टाउकोमा देखिने चन्द्रमाले कल्पनाशील मनको प्रतिनिधित्व गर्छ भने अटुट ज्ञानको धारा नै गङ्गा हो, तीन प्रकारको दुःख हर्ने भएकाले उनको हातमा सदा त्रिशूल रहन्छ अनि गलामा लगाइएको सर्पको मालाले सजगता अर्थात् चेतनाको प्रतिनिधित्व गर्छ । त्यसै गरी शरीरमा पोतिएको खरानी संहारको प्रतीक हो, संसारलाई प्रलयकालमा नष्ट गरेर बाँकी रहेको खरानीको लेप आफ्नो शरीरमा लगाएको जस्तो । शिव वास्तवमा शुद्ध चेतना हो, अद्वैत वेदान्तका प्रणेता आदि शङ्कराचार्य पनि यही भन्नुहुन्छ । त्यस्तै शक्ति अर्थात् देवी चाहिँ यो संसारलाई चलायमान राख्ने शक्ति हो । शिवले केही पनि गर्दैन, उ केवल साक्षी मात्र हो भने सृष्टि, सञ्चालन र संहार सबै गर्ने शक्तिचाहिँ तिनै देवी हुन् । 

सौन्दर्य लहरी भन्ने आफ्नो प्रसिद्ध स्तोत्रमा शङ्कराचार्य लेख्नुहुन्छ, शिवले तिनै देवीको मद्दतले यो सारा जगत्को सृष्टि गर्छन् र त्यो स्त्री शक्तिको अभावमा शिव हलचलसमेत गर्न सक्दैनन् । उदाहरणका लागि शिवबाट स्त्री शक्तिको प्रतिनिधित्व गर्ने इकार हटाइदिएको खण्डमा त्यो शव बन्छ । काश्मिरी शैव मत अन्तर्गत त्रिक सिद्धान्त अनुसार सृष्टिका तीन प्रमुख तत्व हुन् शिव, शक्ति र जीव अर्थात् शिव, देवी र नर । शिव र पार्वतीका अनेकन कथा, किंवदन्तीहरू हिन्दु शास्त्रहरूमा उपलब्ध छन् । स्वस्थानी व्रतकथामा पनि शिव र पार्वतीकै लीलाहरूको वर्णन छन् । महादेवको शक्तिलाई पहिचान गर्न नसकी उनलाई अवहेलना गर्नाले दक्षप्रजापतिको यज्ञ मात्र भङ्ग नभई उसले आफ्नो शरीरसमेत त्याग्नुपर्ने हुन्छ । त्यसमा दक्षप्रजापतिले मानिसमा हुने अहङ्कारको प्रतिनिधित्व गर्छ । अहङ्कारले मानिसलाई कसरी पतनको मार्गतिर डो¥याउँछ भन्ने पाठ त्यसले सिकाउँछ ।

भनिन्छ, शिवले पार्वतीलाई योगका विभिन्न आसनबारे ज्ञान दिएका थिए, जुन मत्स्येन्द्रनाथ र उनका शिष्य गोरखनाथले सिकेपछि मानिसमा फैलिएको हो । त्यसो हुनाले पनि शिवलाई महायोगी भनिएको हो । यसरी शिव र देवीबिच संवादको रूपमा कतिपय महत्वपूर्ण आध्यात्मिक ज्ञानशास्त्रमा उल्लेख भएको हामी पाउन सक्छौँ । त्यस्तै काश्मिरी शैवमत अन्तर्गतको एक प्रख्यात ग्रन्थ शिवसूत्रमा शिवले पार्वतीलाई अद्वैतमतमा आधारित आध्यात्मिक ज्ञान दिन्छन् । नवौँ शताब्दीका विद्वान् वसुगुप्ताद्वारा रचित शिवसूत्र मानिसको चेतनासँग सम्बन्धित छ । यस ग्रन्थमा सत्यको स्वरूप, शिवको पहिचान एवं आत्मज्ञानका विधिहरूको वर्णन गरिएको छ । त्यस्तै काश्मिरी शैवमत अन्तर्गतको प्रसिद्ध ग्रन्थ विज्ञान भैरव तन्त्रमा शिव र पार्वतीको संवादको रूपमा ११२ किसिमका ध्यानका विधिहरूको वर्णन गरिएको छ ।

त्यस्तै किंवदन्तीमा भनिएको छ, शिव हिमालयमा बास गर्छन् र उनले हिमालय पर्वतकी पुत्री पार्वतीसँग विवाह गरेका छन् । कतिपय शास्त्रमा उल्लिखित कुराहरूलाई जस्ताको तस्तै बुझ्नुको सट्टा सङ्केतको रूपमा बुझ्नपर्ने हुन्छ । हिमालय पर्वत सबैभन्दा पवीत्रस्थल मानिन्छ । हिमालयको हिउँ पग्लेर प्रवाहित हुने जल सबैभन्दा शुद्ध मानिन्छ । पहिले पहिले साहसी खेलको रूपमा हिमाल चढ्ने प्रचलन थिएन । हिमालयको शान्त वातावरणमा ऋषिमुनि ध्यान, तप गर्थे र सत्यसँग प्रत्यक्ष साक्षात्कार गर्थे । यसरी हिमालय सबैभन्दा पवित्र र शुद्धस्थल भएको हुनाले शुद्ध चेतनाको प्रतीक शिवको बासस्थान हिमालय भनिएको हुनु पर्छ ।

नेपालमा इस्वी संवत्को पहिलो शताब्दीभन्दा अघिदेखि नै शैव मतको प्रभाव परेको देखिन्छ । पाँचौँ शताब्दीको मानिने पशुपतिनाथको मन्दिर नेपालीको मात्र नभई भारत तथा अन्य दक्षिण एसियाली देशका हिन्दुहरूको पनि आराध्य देवता मानिन्छ । शिव हिन्दुहरूको मात्र नभई कतिपय बौद्धमार्गी तथा किराँतीहरूले पनि मानिआएका देवता हुन् । काठमाडौँको पशुपतिक्षेत्रमा गौरीघाटस्थित किराँतेश्वर महादेवको मन्दिर किराँतको पनि पूजनीय स्थल हो । त्यस्तै महादेवलाई भैरवको रूपमा बौद्धमार्गीले पनि उपासना गर्ने गरेको पाइन्छ । काठमाडौँसहित नेपालका विभिन्न तीर्थस्थल वरिपरि यत्रतत्र शिवलिङ्ग देख्न पाइन्छ । यसबाट पनि नेपाललाई शैव मतावलम्बीको प्राचुर्य भएको देश मान्न सकिन्छ । 

शास्त्रहरूमा भनिएको छ, शिवको कुनै स्वरूप हुँदैन, किनकि त्यो सत्यस्वरूप हो, शुद्ध चैतन्य स्वरूप हो । त्यसो हुनाले पनि हामी अन्य देवताको जस्तो शिवको मूर्तिलाई नभई शिवलिङ्गलाई पूजा गर्छौं । किनभने त्यो अनन्त शक्तिको प्रतीक हो, अनन्त चेतनाको प्रतीक हो, सत्यस्वरूप हो । शिवलाई दिगम्बर पनि भनिन्छ अर्थात् जसको आकाश नै वस्त्र हो । त्यो निराकार, अजन्मा, अमर, निर्गण ब्रह्मस्वरूप हुनाले त्यसको कुनै रूप हुँदैन र हामी लिङ्ग अर्थात् चिह्नको रूपमा त्यसको उपासना गर्छांै । शिवलिङ्ग भएको मन्दिरलाई पूरै परिक्रमा गरिँदैन, त्यसको आधा मात्र परिक्रमा गर्ने चलन छ । शिवलिङ्गको दर्शन गरिसकेर आधा दायाँबाट र आधा बायाँबाट परिक्रमा गर्ने प्रचलन छ । किनभने जो अनन्त छ, त्यसको कसरी परिक्रमा गर्नु सम्भव हुन्छ ? जसको पूर्ण परिक्रमा गरिन्छ, त्यो अनन्त हुँदैन, असीमित हुँदैन । 

श्वेताश्वरोपनिषद्मा महेश्वरको बारेमा यसरी वर्णन गरिएको छ, प्रकृतिलाई माया जान र महेश्वरलाई मायावी । त्यही प्रकृतिरूपी मायाद्वारा नै यो कार्यकारणस्वरूप सम्पूर्ण जगत् व्याप्त छ । अर्थात् तिनै महेश्वरले आफ्नो माया शक्तिद्वारा यो सारा चराचर जगत्को सृष्टि गरेका हुन् (श्वेत ४.१०) । त्यस्तै अर्को श्लोकमा भनिएको छ, रुद्र एउटै छ, त्यस कारण ब्रह्मवेत्ताहरू त्यस रुद्रबाहेक अरू कुनै कुराको अपेक्षा गर्दैनन् । त्यसले आफ्ना विभिन्न शक्तिको माध्यमले यस लोकमा शासन गर्छ र त्यो समस्त जीवभित्र विद्यमान छ । त्यसले सम्पूर्ण लोकको रचना गरी त्यसको रक्षक भएर प्रलयकालमा सम्पूर्ण लोकलाई आफूभित्र सङ्कुचित गर्छ । (श्वेत.३.२) । यसरी यहाँ शिवलाई ब्रह्मस्वरूप मानी त्यसको स्तुति गाइएको छ ।

शिवलाई बाहिर मन्दिरमा नभई आत्मामा नै दर्शन गर्ने हो, शिवको बाहिरी रूप त सङ्केत मात्र हो । श्वेताश्वर उपनिषद्को भाष्यमा आदि शङ्कराचार्य भन्नुहुन्छ, योगीहरू शिवलाई आत्मामा नै दर्शन गर्छन् प्रतिमामा होइन । जसले आत्मस्थित शिवलाई बेवास्ता गरी बाह्य शिवको पूजा गर्छ, उसले मानौँ हातमा रहेको भातको गाँस भुइँमा फालेर केवल हात मात्र चाट्छ । 

शङ्कराचार्यका अनुसार आत्मस्थ तीर्थलाई त्यागेर बाह्य तीर्थमा जानु भनेको हातमा रहेको हिरा फ्याँकेर बाहिर रहेको काँच खोज्नु सरह हो । तसर्थ यस महाशिवरात्रिले हामीलाई आफूभित्र रहेको शुद्ध चैतन्य स्वरूप शिवको खोजी गर्ने प्रेरणा देउन् । किनभने जब हाम्रो हृदय मलरहित शान्त र शुद्ध हुन्छ, त्यस अवस्थामा अवश्य पनि शिवत्व प्राप्त हुन्छ ।