काठमाडौँ, फागुन १४ गते । विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित हुँदा काठमाडौँ महानगरपालिकाको सम्पूर्ण काम प्रभावित बनेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालय उपस्थित नहुँदा दैनिक प्रशासन र आर्थिक गतिविधि अवरुद्ध हुनुका साथै कर्मचारीको तलबसमेत रोकिएको छ । आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग मात्र हुन्छ । करिब २५ अर्ब रुपियाँ वार्षिक बजेट रहेको काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतले मासिक दुई अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ ।
गत पुस ८ गतेदेखि महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा उपस्थित हुनुभएको छैन । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काठमाडौँ महानगरपालिका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी नगराई कार्यालयमा अनुपस्थित हुनुभएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहनुभएका गुरागाईंलाई गत भदौ २७ गते बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौँ महानगरपालिकामा सरुवा गरेको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत दुई महिनादेखि अनुपस्थित हुँदा महानगरपालिका ठप्प जस्तै बनेको बताउनुभयो । उहाँका अनुसार चार महिनादेखि महानगरका एक हजार आठ सय शिक्षक र दुई महिनादेखि महानगरका करिब दुई हजार कर्मचारीका साथै जनप्रतिनिधिले समेत तलब पाएका छैनन् ।
त्यसै गरी दैनिक प्रशासनिक काम अवरोध हुनुका साथै विभिन्न निर्माण कम्पनीको भुक्तानी रोकिएको छ । साथै विभिन्न आयोजनाका करिब पाँच अर्ब र अन्य भुक्तानीका करिब एक अर्बभन्दा बढी रकम रोकिएका छन् ।
मन्त्रालयलाई छैन जानकारी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका कर्मचारी महाशाखाका सहसचिव बलराम रिज्यालले प्रमुख प्रशासकीय अधिकृत गुरागाईं काठमाडौँ महानगरपालिकामा अनुपस्थित हुनुभएकोबारे मन्त्रालयलाई कुनै जानकारी नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, “मन्त्रालयलाई कुनै खबरै छैन । हामीले खटाएको मान्छे त्यहीँ हुनुहुन्छ । उहाँले बिदा माग्न आउनुभएको छैन ।