जयकृष्ण यादव
इनरुवा, फागुन १३ गते । दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।
आइतबार राति र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेर क्षति भएको हो । हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएपछि किसान चिन्तित भएका छन् ।
भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेकोमा हावाहुरीले हजारौं बोट ढलेर ठुलो क्षति भएको छ ।
फल्न सुरु गरेको र केही तयारी हुने अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले लगानी उठाउन मुस्किल हुने मियाँले गुनासो गर्नुभयो । अर्का किसान खुर्सीद अंसारीले दुई विघामा लगाएको केरा खेती नष्ट भएको गुनासो गर्नुभयो । उहाँले अर्काको खेत भाडामा लिएर सुरु गरेको केरा खेती सोमबार आएको हावाहुरीले क्षति पुगेको बताउनुभयो ।
उहाँ जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा सामेबरसम्म पटकपटक आएको ठुलो हावाहुरीले केरा खेतीसहित गहुँ र मकै खेतीमा समेत क्षति पुर्याएको किसानहरुले बताएका छन् ।
सदरमुकाम इनरुवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको छ ।
दुई महिनापछि बजार लान मिल्ने अवस्थामा रहेका केरा ढलेर नोक्सान हुँदा किसानको आर्थिक क्षति भएको इनरुवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो ।
इनरुवामा मात्रै सय बिघा क्षेत्रफलमा केरा खेती भइरहेकोमा अधिकांश केरालाई हावाहुरीले नोक्सान गरेको उहाँले बताउनुभयो । मेहताका अनुसार करिब एक करोड रुपियाँ बराबरको केरा खेती ढलेर नोक्सान भएको छ । जिल्लामा ६ सय ५० बढी हेक्टर अर्थात् एक हजार बिघामा केरा खेती भइहरेको छ ।