सुर्खेत समाचारदाता
सुर्खेत, फागुन १३ गते । कर्णाली प्रदेशमा पशु नस्ल सुधारको काम सुरु हुन लागेको छ । प्रदेश सरकारले पशु नस्ल सुधारका लागि बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सो भवनको शिलान्यास गर्नुभयो । पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य अनुसार कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भवन बनाउन लागेको हो ।
मन्त्रालयमातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण कार्य सुरु भएको हो ।
प्लान्ट स्थापनापछि गाईभैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने लक्ष्य राखिएको छ । मन्त्रालयले गत आवमा ४० लाखका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । सोही अनुसार चालु आव २०८१/८२ मा चार करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरेर कर्णाली प्रदेशमा पहिलो पटक प्लान्ट निर्माण सुरु भएको गरिएको हो । तरल नाइट्रोजन प्लान्ट स्थापनाबाट प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउनलगायत उन्नत जातका पाडा/बाच्छा उत्पादनमा टेवा पुग्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
यस्तै पहिला प्रदेशबाहिरबाट आयात गर्दै आएको पशुको वीर्य कर्णालीमै तरल नाइट्रोजनको स्थापनापछि पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान नस्ल सुधारका लागि सहज हुने भएको छ । उहाँले यसबाट कर्णालीमा पशुपालन पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताउनुभयो । उहाँका अनुसार दुध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नस्ल सुधार अत्यन्त प्रभावकारी हुने छ । प्रदेशलाई दुध र मासुमा आत्मनिर्भर बनाउनका लागि प्रदेश सरकारको यो योजनाले टेवा पुग्ने बताइएको छ ।