गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत सम्पन्न भएको छ । गत कात्तिक २३ गतेदेखि सुरु भएको विमानस्थलको ट्याक्सी वे र धावनमार्ग जोड्ने लिङ्क वे तथा जहाज पार्किङ क्षेत्रलाई एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फको विस्तारको काम ६० प्रतिशत पूरा भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “समानान्तर ट्याक्सी वे निर्माण, ह्याङ्गर क्षेत्र विस्तार, इन्टरनेसनल एप्रोनतर्फको समष्टिगत भौतिक प्रगति सन्तोषजनक रूपमा भइरहेको छ । विमानस्थलको क्षमता विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पुर्याउनका लागि सुरु गरिएको काम तोकिएको समयमै सकिने छ ।”
कात्तिक २३ देखि माघ १८ सम्म १० घण्टा विमानस्थल बन्द गरी सुरु गरिएको धावनमार्गको ७५ मिटर वरपरको काम समयमै सकिएपछि माघ १९ देखि थप दुई घण्टा उडान सञ्चालन गरिएको थियो । माघ २० गतेभित्र धावनमार्ग थप एक घण्टा सञ्चालन हुने उहाँले बताउनुभयो ।
हाल विमानस्थल बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म पूर्ण रूपमा बन्द रहँदै स्तरोन्नतिको काम भइरहेको छ । विमानस्थल चैत १८ गतेदेखि पूर्ण सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ ।
धावनमार्गको दुवै विन्दुतर्फका समानान्तर ट्याक्सी वे र धावनमार्ग जोड्ने लिङ्क वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्याङ्गर क्षेत्रतर्फ भइरहेको विस्तार सम्पन्न भएपछि वार्षिक एक करोड हवाई यात्रुले उड्डयन सेवा लिने पूर्वाधार तयार हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नुका साथै, एयर ट्राफिक कन्ट्रोलरलाई एयर ट्राफिक व्यवस्थापन गर्न सहज, उडान अवतरणमा हुने ढिलाइमा कमी र हवाई सुरक्षामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।