• १२ फागुन २०८१, सोमबार

परराष्ट्रमन्त्री डा. देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबिच भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा द्विपक्षीय भेटवार्ता हुँदै । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौं, फागुन १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबिच साइडलाइन भेटवार्ता भएको हो ।

भेटका अवसरमा उहाँहरुबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा. देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९ औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

नेपाल र अजरबैजान नाम र जि७७ सङ्गठनका सदस्यका रुपमा विकासशील देशहरुका समस्याहरु साझा रुपमा अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका मन्त्री डा. देउवाले बताउनुभएको थियो । 

मन्त्री डा. देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरुमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा आवाज उठाउने बताउनुभयो । 

साथै उहाँले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गर्नुभयो ।