• १२ फागुन २०८१, सोमबार

फुङ्लिङ र पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा

blog

तस्बिर : चन्द्र पन्दाक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, फागुन १२ गते  । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबुलकार विवाद चर्किंदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार राति अबेर जारी गर्नुभएको सूचना अनुसार सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । शनिबार राति नो केबुलकार समूहले फुङ्लिङ बजारमा गरेको प्रदर्शनपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको र झडपका कारण परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नु परेको सूचनामा उल्लेख छ । 

प्रजिअ शर्माले संवेदनशील र प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख गर्नुभएको छ । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङ्लिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजङ्घा टोल सीमा निर्धारण गरिएको छ । 

यस्तै पाथीभरा क्षेत्रको काफ्लेपाटी, बलुडाँडा क्षेत्र अन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्तरतर्फ केबुलकार बेस स्टेसन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको एक सय मिटर क्षेत्रभित्र सीमा (चार किल्ला) तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

यता निर्माणाधीन केबुलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दर्जनौँ सङ्ख्यामा दुवै पक्षका घाइते भएका छन् । नो केबुलकार समूहले केबुलकारविरुद्ध सदरमुकाममा राँके जुलुस निकालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप सुरु भएको थियो । गएको बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबुलकार निर्माणस्थलमा पनि नो केबुलकार समूह र प्रहरीबिच झडप भएको थियो । झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।

धनकुटामा पनि विरोध

यसैबिच हिले समाचारदाताका अनुसार ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर धनकुटामा पनि प्रदर्शन भएको छ । ताप्लेजुङमा शनिबार भएको आन्दोलनका व्रmममा झडपपछि प्रहरीले २६ जनालाई पव्रmाउ गरेको भन्दै त्यसको विरोधमा धनकुटामा प्रदर्शन गरिएको हो । प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समिति धनकुटा र मुकुम्लुङ सङ्घर्ष समिति धनकुटाको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी नेपालका सचिव राजुकुमार राईले लिम्बूको आस्थाको केन्द्र मुकुम्लुङमा पैसा कमाउने माध्यम बनाउन खोज्नु दुःखद रहेको बताउनुभयो ।