• ११ फागुन २०८१, आइतबार

राष्ट्रिय प्याव्सनको महाधिवेशन फागुन १६ र १७ मा

blog

पत्रकार सम्मेलनमा राष्ट्रिय प्याव्सनका पदाधिकारीहरू ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन ११ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय  एसाेसिएसन नेपाल (राष्ट्रिय प्याव्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुनेभएको छ । 

राष्ट्रिय प्याव्सनले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको छ । राष्ट्रिय प्याव्सनका अध्यक्ष सुवास न्यौपानेले संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक गिजोलिँदै गएको र मुलुकमा गणतन्त्र स्थापना भएको लामो समय बित्नलाग्दा पनि नयाँ शिक्षा ऐन जारी हुन नसक्नु दुःखद भएको बताउनुभयो । 

उहाँले देशको शिक्षा क्षेत्र धेरै क्षेत्रबाट प्रभावित बन्दै गएको सन्दर्भमा महाधिवेशनले शिक्षाका समस्याका बारेमा समिक्षा गर्दै नयाँ सुझाव प्रस्तुत गर्ने बताउनुभयो । राष्ट्रिय प्याव्सनको अर्को पक्षले पनि महाधिवेशनको मिति तोकेको छ । सो पक्षले फागुन १५ र १६ गते महाधिवेशन गर्दैछ । 

नेपालगन्जमा सम्पन्न सातौं महाधिवेशनमा पाण्डव हमाल र सुवास न्यौपानेलाई डेढ–डेढ वर्ष नेतृत्व गर्ने लिखित सहमति भएको थियो । सुरुको डेढ वर्ष बितेपछि हमालले नेतृत्व छाड्न अस्वीकार गर्नु भएपछि न्यौपानेले सहमतिअनुसार अध्यक्षको पदभार ग्रहण गर्नु भएको थियो । यसप्रति हमाल समूहले पाटन उच्च अदालतमा रिट दर्ता गरेकोमा अदालतले रिट खारेज गर्दै न्यौपाने समूहलाई वैधानिकता दिएको थियो ।