मुसीकोट समाचारदाता
रुकुमपश्चिम, जेठ २० गते । रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापक (हेड सर) ले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको पाइएको छ । आठबिसकोट नगरपालिका–८ स्थित हिमालय माध्यमिक विद्यालयको मूलगेटमै रहेको स्टेसनरी पसलमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यापार हुने गरेको हो ।
नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा भएको अनुगमन टोलीले विद्यालयको गेटदेखि करिब तीन मिटरको दुरीमा रहेको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार हुने गरेको भेटाएको हो । उपप्रमुख शाहीका अनुसार स्कुलको मूलगेटमै रहेको विवेक स्टेसनरी तथा किराना पसलमा बियर, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्रीवितरण हुने गरेको पाइएको हो ।
स्टेसनरीका नाममा सञ्चालित पसलभित्र मदिरालगायत विद्यालयपरिसरमा प्रतिबन्धित सामान बेच्ने गरेको पाइएपछि सो पसललाई १० हजार रुपियाँ जरिबाना गरिएको शाहीले जानकारी दिनुभयो । सो पसल सोही विद्यालयका प्रधानाध्यापक नवराज बुढाको हो । प्रधानाध्यापकले नै विद्यालयपरिसरमा रक्सी, चुरोट, सुर्ती बेच्ने गरेको गुनासोपछि अनुगमनमा जाँदा स्टेसनरी तथा किराना पसलभित्र बियर, चुरोट, सुर्ती राखेर बिक्री गर्ने गरेको पाइएको हो ।
विद्यालय क्षेत्रमा विवेक स्टेसनरी तथा किराना पसलको नाममा दर्ता गरेको पसलमा सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले मदिरा र सुर्तीजन्य व्यापार गर्नु दण्डित कार्य भएको नगर उपप्रमुख शाहीको भनाइ छ । वडा अध्यक्ष खगेन्द्र विकका अनुसार २०८१ जेठ ३ गतेदेखि आठबिसकोट नगरपालिका–८ को कार्यालयले मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाएको थियो । वडाध्यक्ष विकले प्रधानाध्यापक बुढालाई मदिरा बिक्रीवितरण नगर्नु भनेर दुई/तीन पटक सुझाव दिएको तर अटेरी गरेर लुकाएर बिक्रीवितरण गरिरहेको बताउनुभयो । वडामा मदिरा प्रतिबन्ध लगाउँदा प्रधानाध्यापक स्वयम्ले निर्णय पढेर हस्ताक्षर गर्नु भएको तर आफैँले नियमको उल्लङ्घन गरेको उहाँको भनाइ छ । यस विषयमा प्रधानाध्यापक नवराज बुढाले आफूले मदिरा बिक्रीवितरण नगरेको तर चरित्रहत्या गर्नलाई हल्ला फैलाउन खोजिएको बताउनुभयो । आफन्तको विवाहमा मदिरा ल्याएको र बाँकी रहेपछि परिवारका सदस्यले सुत्ने कोठामा राखेका रक्सीका बोतल निकालेर पसलबाट रक्सी बेचेको आरोप लगाइएको उहाँको भनाइ छ । परिवारका अन्य सदस्यले स्टेसनरी र किनारा पसल सञ्चालन गरेका तर मदिरा बिक्री नगरेको उहाँले जनाउनुभयो ।