टोपलाल अर्याल
रेसुङ्गा, जेठ २० गते । गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रुपमा एक हजार रुपियाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्यामसुन्दर पोख्रेलले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार मिर्गौला प्रत्यारोपण तथा डायलाईसिस गराइरहेका, गम्भीर मुटुरोगी, क्यान्सर र मेरुडण्डको पक्षघात भएका बिरामीहरुका लागि उक्त जीविकोपार्जन भत्ता पाउने जानकारी दिनुभयो ।
गाउँपालिकाल सार्वजनिक सूचना प्रकाशन गरेर भत्ताका लिनेका लागि बिरामीहरुलाई सक्कल निवेदनसहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्न भनेको छ । स्वास्थ्य शाखा संयोजक पोख्रेलले सबै प्रकृया पूरा गरेपछि बिरामीको खातामा वार्षिक रुपमा उक्त भत्ता जम्मा हुने बताउनुभयो ।
उहाँले गाउँपालिका भित्र मिर्गौला प्रत्यारोपण तथा डायलाईसिस गराईरहेका, गम्भीर मुटुरोगी, क्यान्सर र मेरुडण्डको पक्षघात भएका ७५ बिरामीहरु रहेको बताउनुभयो । त्यस्तै छत्रकोट गाउँपालिकाले विपन्न बिरामीहरुका लागि पनि बिरामीहरुलाई रोगको प्रकृति हेरेर दस हजार रुपियाँदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाको निर्णयले रोग र आर्थिक अवस्थाका कारण पीडित परिवारलाई राहत भएको छ । नेपालको संविधान ०७२ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ ।
संविधानको धारा ३५ र त्यसका उपधाराहरुमा स्वास्थ्यसम्बन्धी थुप्रै कुरा उल्लेख छ । तर नागरिकले उपचारका लागि सवै सम्पत्ति गुमाउने र ज्यान पनि गुमाउने स्थिति भएका बेला गाउँपालिकाको निर्णयले केही भए पनि राहत भएको छ ।