चौतारा समाचारदाता
चौतारा, फागुन ११ गते । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारानजिकै जुगल गाउँपालिका–१ बाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भयो । सवारी दुर्घटनापछि स्थानीयले प्रहरीमा खबर गरे । तत्काल नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयहरू जम्मा भए । दुर्घटनामा परेकाहरूको उद्धार गरी चौतारा अस्पताल पु-याइयो ।
उद्धारमा खटिएका र स्थानीयको सहायतामा चौतारा अस्पताल र वनदेवी पोलिक्लिनिक चौताराको एम्बुलेन्समा घाइतेलाई अस्पताल पु-याइएको थियो । दुर्घटनामा परी कोहीको टाउकोमा चोट, कोहीका खुट्टामा चोट र कोहीका घाँटी र कम्मरमा चोट लागेर घाइते अवस्था अस्पतालमा पु-याइएको थियो ।
अस्पतालमा नियमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी घाइते पु-याएपछि आपत्कालीन उपचारमा केन्द्रित हुनुभएको थियो । घाइतेको प्रकृति छुट्याई उपचार सुरु गरिएको थियो । केही घाइतेहरूको चौतारा अस्पतालमा उपचार सम्भव नभएपछि धुलिखेल अस्पताल रेफर गरिएको थियो । तत्काल पत्रकार सम्मेलनमार्फत अस्पतालले विज्ञप्तिमार्फत घाइतेको सङ्ख्या, विवरण, घाइतेको प्रकृतिबारे जानकारी गराइएको थियो ।
घटनाको सन्दर्भमा सञ्चारकर्मीलाई अस्पतालका प्रमुख रुद्रमणि भण्डारीले जानकारी गराउनुभएको थियो । यो घटनाको नाट्कीय रूपान्तरण हो । आपत्कालीन घटना भएपछि त्यसको कसरी व्यवस्था गर्ने भनी साङ्केतिक प्रदर्शन गरिएको थियो । यी घटनापछि व्यवस्थापनका लागि चौतारा अस्पताल सक्षम भएको छ । जिल्लामा विपत् व्यवस्थापनमा काम गर्ने निकायको सहभागितामा कृत्रिम घटना अभ्यास गरी अस्पतालले दिने सेवा परीक्षण गरी क्षमता परीक्षण गरिएको छ । घटना अभ्यासमार्फत अस्पतालले आपत्कालीन सेवामा दृढ रहेको देखाएको अस्पतालका प्रमुख रुद्रमणि भण्डारीले बताउनुभयो ।
कृत्रिम घटना अभ्यासपछि जिल्ला विपत् व्यवस्थापन समितिको छलफलमा प्रमुख जिल्ला अधिकारी किरण थापा, चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरी, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गाल, रेडव्रmस सोसाइटीका भरत कोइरालाले घटना अभ्यासको प्रभावबारे धारण राख्नुभएको थियो ।