बोमलाल गिरी
नवलपुर, फागुन ११ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ हर्वले चोकमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् ।
ना १ क ९१२९ नम्बरको ट्रिपर दुर्घटना भइ त्यसैले च्यापिएर चालक मकवानपुरको बागमती गाउँपालिका ६ फापरवारीका ३२ वर्षीय नरबहादुर बाइवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
पाल्पाबाट चुनढुङ्गा लोड गरी नवलपुरको विनयी त्रिवेणी–१ होङसी सिमेन्टतर्फ आउँदै गरेको ट्रिपर चालकले नियन्त्रण गुमाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार र पर्साको वीरगन्ज उपमहानगरपालिका २७ का ३० वर्षीय ताज महमद हावारी घाइते हुनु भएको छ ।
घाइतेहरूलाई उपचारको लागि मध्य बिन्दु प्रादेशिक अस्पताल डन्डा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थलबाट फर्की नसकेकोले दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयाे ।