• १० फागुन २०८१, शनिबार

धार्मिक पर्यटकीय क्षेत्र बन्दै अर्जुन चौपारी

blog

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा भर्खरै निर्माण गरिएको नवग्रह मन्दिर । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, फागुन १० गते ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा भर्खरै निर्माण गरिएको नवग्रह मन्दिरको कारण यस क्षेत्रमा चहलपहल बढेको छ । पालिकालाई धार्मिक पर्यटनको क्षेत्रमा अगाडि बढाउने योजनाका साथ अर्जुन चौपारी गाउँपालिकाले नवग्रह मन्दिर बनाएको हो । नेपालमा नै पहिलो पटक यस्तो मन्दिर बनाइएको पालिकाको दावी छ । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार नेपालमा नवग्रहको मात्रै विशेष मन्दिर छैन ।

नवग्रह मन्दिरमा पुग्ने भक्तजनहरुको सङ्ख्या बढेका कारण गाउँको चहलपहल पढेको अर्जुनचैपारी बजारमा व्यवसाय गर्दै आउनु भएका प्रेम ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाई सराईका कारण गाउँमा मान्छे थिएनन्, अहिलेको चहलपहल देखेर हामी निक्कै उत्साहित छौं ।”

महाशिवरात्रीको अवसर पारेर गत फागुन ६ देखि नवग्रह मन्दिरमा विशेष पूजा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष तिवारीले बताउनुभयो । महाशिवरात्रीको दिन नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिने पालिकाले जनाएको छ ।


अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा स्थापना गरिएको मन्दिरको नेपाल सरकारका पर्यटनामन्त्री बद्री पाण्डे, प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा लगायतको उपस्थितिमा प्राणप्रतिष्ठा गरिएको हो ।

परम्परागत समयदेखि नै चर्चित जलबराह धार्मिक बन परिसर ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सोही स्थानमा उक्त मन्दिर बनाइएको हो । उक्त धार्मिक बनलाई समेत भबिष्यमा ध्यान केन्द्र र योगा गराउने स्थानका रुपमा बिकसित गर्ने पालिकाले जनाएको छ ।

नवग्रह मन्दिरमा पुगे धार्मिक अभियान्तादेखि क्रिकेटर लामिछानेसम्म

नवग्रह मन्दिरले यतीबेला चर्चा पाइरहेको छ । जसको कारण मन्दिरमा पुग्नेहरुमा विशिष्ट व्यक्तिहरु समेत रहेका छन् । नवग्रह मन्दिर अनुष्ठान ,गीता ज्ञान एवम् धार्मिक महोत्सवमा पुग्ने विशिष्ट व्यक्तिहरुले प्रवचन गर्दै आएका छन् ।


नेपाली क्रिकेट टोलीका पूर्व क्याप्टेन सन्दिप लामिछाने आफ्ना बुबाआमासहित नवग्रहको मन्दिरमा दर्शनका लागि पुग्नु भएको छ । हाल चितवन बसाई सरेको भए पनि लामिछानेको जन्मथलो अर्जुन चौपारी नै हो । धार्मिक क्षेत्रको रुपमा परिचित भएको आफ्नो जन्मथलोमा आउन पाउँदा आफूलाई निक्कै आनन्द महसुस भएको लामिछानेको भनाइ छ ।

धार्मिक महोत्सवमा पुग्नेहरुले डाक्टर स्वामी केशवानन्द, चैतन्य कृष्ण लगायतको प्रवचन सुन्न सकिने पालिकाले जनाएको छ ।

नेपालीसँगै भारतीय धार्मिक पर्यटकको सम्भावना

सिद्धार्थ राजमार्गबाट सजिलै पुग्न सकिने नवग्रह मन्दिरमा भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने गाउँपालिकाको भनाइ छ । राजमार्ग हुँदै मुक्तिनाथसम्म पुग्ने भारतीय पर्यटकको ओहोरदोहोर हुने गरेको छ । नेपालमा नवग्रहकै विशेष मन्दिर नभएकाले यस्को महत्व झनै बढेको धार्मिक अभियान्ता चैतन्य कृष्णको भनाइ छ । नेपाल कै पहिलो सिरुवारी होमस्टे जाने सडक समेत यही मन्दिरको नजिकैबाट भएकाले यसमा धार्मिक पर्यटकको सङ्ख्या बढ्ने पालिकाको दावी छ ।

सुस्ताएको गाउँघरमा बढेको चहलपहल

पछिल्लो समय गाउँहरु खाली हुँदै गएका छन् । गाउँका धेरै घरहरुमा लगाइएको ताला नखुलेको धेरै समय भइसकेको छ तर गाउँमा बनेको नवग्रह मन्दिरका कारण यतीबेला अर्जुन चौपारी गाउँपालिकामा चहलपहल बढेको छ । गाउँको चहलपहल बढाउन पनि धार्मिक महोत्सव सफल भएको गाउँपालिकाका अध्यक्ष तिवारीले बताउनुभयो ।

नवग्रह मन्दिर अनुष्ठान ,गीता ज्ञान एवम् धार्मिक महोत्सवमा दैनिक हजारौं भक्तजनहरु पुग्ने गरेका छन् । ठाउँठाउँबाट भक्तजनहरु आएको देख्दा स्थानीय निक्कै उत्साहित छन् ।

छिमेकी राष्ट्र भारतमा छुट्टै नवग्रह मन्दिर भएता पनि नेपालमा ग्रहकै मात्र पुजा हुने मन्दिर नभएको गाउँपालिकाको भनाइ छ ।


के छ नवग्रह मन्दिरको विशेषता

हिन्दुहरुले आफ्नो घरमा कुनै न कुनै रुपमा नवग्रहको पूजा गर्ने गर्दछन् । यही आस्थालाई सहयोग पुर्याउन नवग्रहको विधिवत पूजा गर्ने शक्तिपीठ बनाइएको पालिकाले जनाएको छ । नवग्रह मन्दिरको छेउछाउँमा पिपल रोपिएको हो । नवग्रह मन्दिरको मुख्य स्तभ नवभुज आकारको छ । जुन २७.७ फिटको बनेको छ । २७ फिटमाथि तीर फर्केको अग्लो ब्रह्माणीय मूर्तिको अवलोकन प्रत्येक बर्षको गणेश चतुदर्शीमा मात्र दर्शन गर्न पाइनेछ ।

नवग्रह मन्दिरसँगै बनाइएको षट्कोणको बिचमा पशुपतीनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिने र अन्य कोणमा गणेश, कुलदवता, लक्ष्मी, कालभैरब, हनुमान र दुर्गा भवानीको मूर्ति राखिएको । मन्दिरको एक ठाउँबाट छिरेपछि नौ चक्रमा रहेका नवग्रह मन्दिरलाई नौं परिक्रमा सहितको पूजा गरेपछि मात्र बाहिर निस्कन मिल्ने गरी निर्माण गरिएको छ । नौवटा भुजा रहने पिल्लरमा १३ फिटमा नौवटा ग्रहका प्रतिक रहेका छन् भने त्यस माथि नवभुज आकारको १४ फुटको पिल्लर छन् । पिल्लरको सबैभन्दा माथि सूर्यतर्फ फर्केको सौर्यमण्डलीय (ग्रह) को प्रतिमा रहेको छ भने यहाँ रहने प्रतिमा हिन्दुधर्मका ज्योतिषीको विशेष सल्लाह बमोजिम भारतमा बनाइएको हो ।

नवग्रह मन्दिर शनिबार मात्र खुल्नेछ र ९ चक्रमध्ये एक चक्र भने भक्तजनहरुलाई मध्यनजर गरेर अन्य दिनमा पनि पूजाआजा गर्न पाइनेछ ।