माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन १० गते । पोखरामा शनिबार फोहोर सङ्कलन दौड प्रतियोगिता भएको छ । “स्वच्छ देश, हाम्रो परिवेश” भन्ने नारासाथ फोहोर सङ्कलन दौड आयोजना गरिएको हो ।
मैनादेवी फाउन्डेसनको आयोजना तथा पोखरा महानगरपालिका, प्रतिभा मावि, टार्गेट एजुकेसनल कन्सल्टेन्सी लगायत विभिन्न सङ्घ संस्थाको सहकार्यमा भएको दौडको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
उहाँले दौडको शुभारम्भ गर्दै यो दौडले हामीमा फोहोर नगर्न जागरण ल्याउन सहयोग पुग्ने बताउनुभयो । सहरमा देखिने फोहोर मात्र नभएर हामीभित्र रहेको नकारात्मक सोचलाई पनि बदल्न उहाँले विशेषगरी युवालाई आग्रह गर्नभयो ।
मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वच्छ, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई आत्मसात गर्दै आमनागरिकमा सरसफाइप्रति जागरुक गराउन दौड आयोजना गरिएको बताउनुभयो । वातावरण संरक्षण र स्वच्छतामा युवा, विद्यार्थी र नागरिकलाई सचेत र एकजुट बनाइ फोहोर नगर्न प्रेरित गर्ने उद्देश्यले दौड गरिएको उहाँको भनाइ छ ।
दौड पाँच किमी सडकमा भएको हो । पोखराको नदीपुरस्थित प्रतिभा माविबाट सुरु भएको फोहोर सङ्कलन दौड पालिखेचोक, महेश्न्द्रपुल, नयाँ बजार, पृथ्वीचोक, सभागृहचोक, न्युरोड हुँदै पुनः प्रतिभा माविमा पुगेर समापन भएको हो ।
दौडमा दुई जनाको जोडी बनाएर फोहोर सङ्कलन गर्नुपर्ने नियम छ । एक घण्टाको दौडमा प्रतियोगिले सङ्कलन गरेको फोहोरलाई जोखेर सबैभन्दा धेरै फोहोर सङ्कलन गर्नेलाई पुरस्कार वितरण गरिने फाउन्डेसनका सदस्य सृष्टि घिमिरेले बताउनुभयो । विभिन्न विद्यालय र तथा कलेजका विद्यार्थी नेपाल प्रहरी, नेपाली सेना, लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि दौडमा सहभागी भएका थिए ।
फाउन्डेसनका अध्यक्ष केपी खनालको अध्यक्षमा भएको कार्यक्रममा टार्गेट कन्सल्टेसीका संस्थापक भुवन क्षेत्री, प्रतिभा माविमा प्राचार्य किरण सापकोटाले दौड सिम्बोलिक भएको र अब हरेक महिना यस्ता कार्यक्रम सहरमा भइरहनुपर्ने उहाँले बताउनुभयो ।
वातावरण संरक्षणमा आम नागरिकमा जागरुक गराउन मैनादेवी फाउन्डेसनले देशका अन्य सहरमा पनि यस्ता कार्यक्रम गरेको छ । फोहोर नगर्न सेचत गराउने उद्देश्य फाउन्डेसनको रहेको जनाएको छ ।