• १० फागुन २०८१, शनिबार

टायलमा आत्मनिर्भर नेपाल, ८० प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गर्ने

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन १० गते । भृकुटीमण्डपमा जारी १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरुले यस्तो बताएका हुन् । प्राइम सेरामिक्स प्रालिका सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताउनुभयो ।

उहाँले गत वर्षसम्म भारतबाट १४ अर्ब रुपियाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गर्नुभयो । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उहाँको भनाइ छ ।

‘‘गत वर्षसम्म नेपालमा भारतबाट १४ अर्बको टायल आयात हुन्थ्यो । अहिले नेपालमा ६ वटा टायलका उद्योग आइसकेको छ । देश आत्मनिर्भरतातिर जाँदैछ । हामी नेपालको बर्ल अफ लो टायल उत्पादन गर्ने एकमात्र कम्पनी हो । हाम्रो निकै राम्रो मार्केट शेयर छ ।,’’ उहँले भन्नुभयो, ‘‘उपभोक्ताहरुको हिसावले पनि देशमै स्वदेशी उत्पादन हुने भएकाले हाम्रो कस्ट निकै घटेको छ, झण्डै २० देखि २५ प्रतिशतसम्म टायलको मूल्य घटेको छ । स्वदेशमै उत्पादन हुने भएपछि चर्को भन्सार र भाडाहरु तिर्नु पर्दैन । नेपालको घर बनाउने खर्चमा राम्रै योगदान भएको छ । टायल उद्योग यसरी फस्टाउँदा खेरि ।’’

लेमिनार सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरुमा समेत निर्यातका लागि योजनाहरु बनाइरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘इण्डियाबाट नेपालमा आजको दिनमा टायल किन्नुहुन्छ भने पहिलाको भन्दा आयातमा २० देखि २५ प्रतिशत सस्तो छ । अब हामी इम्पोर्टमात्रै होइन एक्पोर्ट गर्ने क्षमता लिएर अगाडि बढिरहेका छौँ । जुन फुल बढी टायल एक्जटिक सर्फेसेजहरु छ ति सर्फेसेजहरु इण्डियामा पनि धेरै कम फ्याक्ट्रीले मात्र बनाउँछ । अबको डेटमा हामी इण्डिया चाइना, युरोप र अमेरिकासम्मको कुरा गरिराछौँ । हाम्रो क्वालिटीले इन्टरनेशनल इस्टाण्डर्ड मिट गरिनै रहेको छ । अब इन्टर्नेश्नल मार्केकमा पनि प्रेजेन्ट देखाउने समय आयो ।’’

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताउनुभयो । उहाँले निमाटोेले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठुलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गर्नुभयो । स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हामी अहिले पोलिस्ड ग्लेस्ड भिक्ट्रिफाइज टायल उत्पादन गरिरहेका छौँ । नेपालको पहिलो भिक्टिीफाइड प्लान्ट हो । यसको उत्पादन दैनिक १८ हजार स्क्वाएर फिट हो । यो नेपालको सर्बभन्दा ठुलो प्लान्ट हो । हामी पहिलो कम्पनी हो जसले नेपालबाट भारतमा टायल निर्यात गरेको छ । अहिलेसम्म हामीले भारतमा टायल निर्यात मात्रै गरेका थियौँ अब निर्यात पनि सुरु भइसकेको छ ।’’

नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताउनुभयो । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उहाँको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग सुरु गरेको उहाँले बताउनु भयो । उहाँले नेपालको वार्षिक टायलको माग दुई हजार हरोड रहेकाले पाँचदेखि ६ वटा उद्योग राम्रोसँग चल्नसक्ने बताउनुभयो ।

केही वर्षअघिसम्म एकाधिकाररुपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभइ विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्त्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् ।