• १० फागुन २०८१, शनिबार

अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशत पुग्यो

blog

सिड्नी, फागुन १० गते । अस्ट्रेलियाको बेरोजगारी दर जनवरीमा बढेर ४.१ प्रतिशत पुगेको छ । जुन डिसेम्बरमा ४.० प्रतिशत थियो ।

आधिकारिक तथ्याङ्कअनुसार श्रमशक्ति सहभागिता दरले रेकर्ड उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोद्वारा जारी तथ्याङ्कअनुसार डिसेम्बर र जनवरीको बिचमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको सङ्ख्या ४४ हजारले बढेर १४.६३ मिलियन पुगेको छ ।

जबकि सक्रिय रूपमा काम खोजिरहेका बेरोजगारहरूको सङ्ख्या २३ हजार चार सयले बढेर ६ लाख २७ हजार पाँच सय पुगेको छ । फलस्वरूप कार्यबल सहभागिता दर– रोजगारी प्राप्त वा काम खोजिरहेका काम गर्ने उमेर समूहको जनसङ्ख्याको अनुपातको मापन–जनवरीमा ६७.२ प्रतिशतबाट बढेर ६७.३ प्रतिशतको नयाँ रेकर्ड उच्चतम स्तरमा पुगेको छ ।

श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले जनवरीमा सहभागिता दर जनवरी २०२४ को तुलनामा ०.८ प्रतिशत बिन्दुले बढी र मार्च २०२० को तुलनामा १.८ प्रतिशत विन्दुले बढी रहेको बताउनुभयो । जनवरीमा रोजगारी–जनसङ्ख्या दर पनि ६४.६ प्रतिशतको नयाँ रेकर्डमा पुगेको छ । उहाँले जनवरीमा रोजगारी र बेरोजगारीमा भएको अधिकांश वृद्धि महिलाहरूद्वारा सञ्चालित भएको बताउनुभयो । 

कोषाध्यक्ष जिम चाल्मर्सले तथ्याङ्कलाई धेरै उत्साहजनक भनेर वर्णन गर्नुभयो । २०२२ मा वर्तमान सरकारले सत्ता जितेदेखि ११ लाखभन्दा बढी रोजगारी सिर्जना भएको छ । जनवरीमा रोजगारी प्राप्त अस्ट्रेलियालीहरूको सङ्ख्यामा खुद वृद्धि भए पनि डिसेम्बरदेखि काम गर्ने घण्टाको कुल सङ्ख्या ०.४ प्रतिशतले घटेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल