काठमाडौँ, फागुन ९ गते । “हाम्रो पात्रो”ले आफ्नो प्रयोगकर्ताका लागि नयाँ सुविधा सहितको मेगा रिलिज लिएर आएको छ। नयाँ संस्करणले प्रयोगकर्तालाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। प्रयोगकर्तालाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीमा संलग्न हुन सजिलो बनाउने विश्वास हाम्रो पात्रोले लिएको छ ।
हाम्रो पात्रोका निर्देशक सुदिना गौतम भन्नुहुन्छ, “समय अनुसार प्रयोगकर्तालाई नयाँ अपडेट प्रदान गर्ने कुरालाई हामीले सधैँ ध्यानमा राखेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ । हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधा प्रयोगकर्ताका माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ भनेर विश्वस्त छौँ।”
यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले प्रयोग गर्ने सेवालाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । त्यसबाहेक, प्रयोगकर्ताले आफ्नो सहजता अनुसार एपको फन्ट साइज पनि बदल्न सकिने छ।
हाम्रो पात्रोले लामो समयदेखि प्रयोगकर्ताले माग गरे अनुसार नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको छ।
अब हाम्रो पात्रो एपबाटै इभेन्टको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ। यो सुविधाले प्रयोगकर्तालाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।