• १० फागुन २०८१, शनिबार

मर्मतपछि माथिल्लो मस्र्याङ्दी–ए बाट विद्युत उत्पादन

blog

लमजुङको भुलभुलेमा रहेको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजना। तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागन ९ गते। एकसाता लगाएर विद्युत गृहको मर्मत सकिएपछि मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ।

आयोजनाको दुईवटा टर्वाइनमध्ये युनिट ‘एक’ को मर्मतसम्भार गरिएको सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले जनाएको छ। “युनिट ‘एक’ को मर्मतपछि २५ मेगावाट विद्युत उत्पादन भएको छ”, आयोजनाका दोभासे दयाराम दाहालले भन्नुभयो, “युनिट दुईको मर्मतसम्भार चलिरहेको छ।” युनिट दुईको मर्मतकार्य सकिन अझै दुईदेखि तीन महिनासम्म लाग्ने उहाँले बताउनुभयो।

गत शनिबारदेखि आयोजनाको विद्युत गृहका टरवाइन र बाँधस्थल वरपरको मर्मत सुरु गरिएको थियो। आयोजनामा २५/२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेका छन्। आयोजनामा टर्वाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक समूहले गरिरहेको छ। विद्युत प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको थियो।

रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण व्यवसायीले मर्मत गरिरहेका छन्। यो क्षेत्रको मर्मतकार्य अप्रिल अन्तिमसम्म चल्नेछ। टर्वाइन मर्मतमा चिनियाँ विषेशज्ञसहित इन्जिनियर तथा प्राविधिक खटिएका छन्। यसको मर्मतकार्य दुईदेखि तीन महिनासम्म लाग्ने आयोजनाले बताएको छ। 

बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्वाइनका दाँतहरू टुक्राएकाले हिउँदको समयमा मर्मत गरिने आयोजनाले जनाएको छ। 

सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो। आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ।