फडिन्द्र अधिकारी
लेखनाथ, फागुन ९ गते । पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य बिहीबारबाट आइसोलेसनमा बस्नुभएको छ ।फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते हुनुभएकोमा आचार्य चिकित्सकको सल्लाहमा आइसोलेसनमा बस्नुभएको हो ।
बिहीबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएका उहाँले यो अवधिमा भेटघाट र बोलचाल नगर्न चिकित्सकले सुझाएको उल्लेख गर्नुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ, “म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छ । डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।”
यसैबिच, बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ पर्नुभएका भारतीय नागरिक कमलेश कुमार दैनिक हाजिरी गर्ने शर्तमा बिहीबार हिरासत मुक्त हुनुभएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उहाँलाई दैनिक हाजिरीमा छाड्न बिहीबार आदेश दिएको थियो ।
३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि ल्याइएको बेलुन कमलेशले नै बेच्नुभएको थियो । उडाउने क्रममा स्पार्किङ मेसिनबाट झिल्को लाग्दा बेलुन विस्फोट भएको थियो । त्यही दिन पक्राउ पर्नुभएका कमलेश हिरासतमुक्त भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
“उहाँ दैनिक हाजिरी गर्न आउने शर्तमा हिरासत मुक्त हुनुभएको छ,” लम्सालले भन्नुभयो, “छानबिन समितिले काम गरिरहेको छ ।” हाइड्रोजन ग्यास भरिएका ती बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते बन्नुभएको थियो ।
उहाँहरु दुवै जना कीर्तिपुर अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।