• १० फागुन २०८१, शनिबार

कर प्रणालीका विषयमा सरोकारवालाबिच संवाद

blog

कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा आयोजित सरोकारवालाबिच संवाद कार्यक्रमका सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा , फागुन ९ गते ।
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो ।

सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजना र कोशी गाउँपालिकाको समन्वयमा स्थानीयवासी, अधिकारकर्मी, राजनीतिकर्मी, वडा अध्यक्षसहित जनप्रतिनिधिहरुको सहभागीतामा कर प्रणालीको विषयमा संवाद कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूहरुले जनमैत्री कर लगाएको बताउनुभयो । उहाँले स्थानीय सरकारले पाएको अधिकार र जिम्मेवारी अनुसारको काम कारवाही गर्नुका साथै कर लगाएको बताउनुभयो । संवादमा सहभागी कोशी ६ का मनटुन यादवले कोशी गाउँपालिकामा कोशी कटानको समयमा बालुवा थुप्रिएकोमा बालुवा निकासी गर्न समेत कर तिर्नुपर्ने भएकाले किसान मारमा परेको गुनासो गर्नुभयो ।

अर्का सहभागी लक्षमण दहियार यादवले कोशीका स्थानीयहरुले संघ, प्रदेश र स्थानीय गरी तीनै तहलाई कर तिर्न बाध्य रहेको जानकारी दिनुभयो । कोशी गाउँपालिका ४ कि स्थानीय मोतिदेवी मेहताले आफूहरुले जग्गाको मालपोत कर र जग्गा विक्रि गर्दा दोहोरो मारमा परेको बताउनुभयो । 

स्थानीय चन्द्रकला नेपालले जग्गाको वर्गीकरण र मूल्याङ्कन गर्दा असमान रुपमा गरेकाले त्यसको पुनर्वालोकन गर्न जरुरी रहेको बताउनुभयो । कोशी ८ कि गिता नेपालले करको दरभन्दा दायरा बढाउनुपर्ने बताउनुभयो । कोशी ३ की फुलकुमारी रामले करदाता शिक्षा र कर्मचारी प्रशिक्षण सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कोशी १ कि कविता मण्डलले एकल कर संहिताका बारेमा नीतिनिर्माता, राजनीतिज्ञ तथा सबै सरोकारवालालाई पर्याप्त जानकारी दिइनुपर्ने बताउनुभयो ।