नवीनराज कुईकेल
लमजुङ, फागुन ९ गते । सदरमुकाम रहेको बेंसीसहर नगरपालिका–८ क्याम्पस रोडमा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । तीन तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको हो ।
लमजुङ प्रहरीका अनुसार आफ्नै घरको छतमा खेलिरहेका मिया सडकमा खसेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते मियालाई लमजुङमा उपचार हुन नसकी भरतपुर चितवनस्थित चितवन मेडिकल कलेज लगिएको थियो ।
उपचारको क्रममा बालकको बिहीबार राति १० बजेतिर मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनुभयो । बालक बिहीबार अपराह्न ४ः३० बजेतिर खसेर गम्भीर घाइते भएका थिए ।
मिया स्थानीय न्यु इरा बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्नुहुन्थ्यो । उहाँका बुवा र हजुरबुवा दुवै जना वैदेशिक रोजगारीमा हुनुहुन्छ । परिवारका एक्लो मृतक मियासँग आमा र हजुरआमा बस्दै आउनुभएको थियो ।