• १० फागुन २०८१, शनिबार

सडक स्तरोन्नति नहुँदा बढ्यो जोखिम

blog

कालीकोट सदरमुकाम मान्म बजारको केही भाग आरसिसी गरेर सुधार गरिँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, फागुन ९ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको मुख्य सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । स्थानीयको अवरोधका कारण मुख्य बजारको सडक जीर्ण बन्दै गएको हो । बजारको अन्य क्षेत्रका सडक आरसिसी भएर बजार क्षेत्र सफा देखिए पनि कृषि विकास कार्यालय सडकखण्ड जोखिमयुक्त बन्दै गएको छ ।

कृषि विकास कार्यालयको पूर्वडाँडादेखि नगरपालिका कार्यालयसम्मको झन्डै तीन समय मिटर सडक आरसिसी नहुँदा यहाँ वर्षाको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । सडकको दक्षिणतर्फका जग्गाधनीले सडकको स्तरोन्नतिमा सुरुमा अवरोध गरेपछि सरोकारवाला निकाय रुष्ट हुँदा यो सडकमा जोखिम बढ्दै गएको हो ।

स्थानीय राजबहादुर बमले जग्गाधनीसँगको छलफलपछि एक वर्षअघि सडक मर्मतमा अवरोध नगर्ने कागज बनेको र बजेट व्यवस्थापन भएर काम गराउन खोज्दा स्थानीयले अवरोध गरेपछि सडक स्तरोन्नति हुन नसकेको बताउनुभयो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका इन्जिनियर चन्द्र खड्काले यो वर्ष बजेट कालीकोट सदरमुकामको नगरपालिका भनेर एक करोड बजेट आएको जानकारी दिनुभयो तर नगरपालिकाले सदरमुकामभन्दा अन्य क्षेत्रका लागि भनेर कार्यपालिकामार्फत निर्णय गरेकाले  सडक मर्मत सुधारमा बजेट नभएको उहाँको भनाइ छ । विवाद मिलाउनुहोस् भनिएपछि नमिलेकाले  स्रोतको व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो ।

कृषि विकास कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीले सडक मर्मत नभएकै कारण चारैतिरको पानी त्यही जम्मा भएर कार्यालय क्षेत्र नै जोखिममा परेको बताउनुभयो । खाँडाचक्र नगरपालिकाका सबइन्जिनियर कम्मरबहादुर बमका अनुसार यसै सडकका कारणले कृषि विकास कार्यालय, प्रहरी गणसहित स्थानीयका घर र बिपी स्मृति भवनसमेत जोखिममा रहेका छन् । दायाँबायाँको क्षेत्र आरसिसी भएकाले दुवैतिरको पानी तलतिर रहेको कच्ची सडकमा जम्मा हुने भएकाले जमिन भासिँदै गएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले भने यो वर्ष बजेट नभएकाले केही गर्न नसकिने जनाएको छ ।