उर्लाबारी समाचारदाता
उर्लाबारी, फागुन ९ गते । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०.९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ ।
कोशी प्रदेशभित्र पर्ने आयोजनाको निर्माणधीन ९५.८ किलोमिटर लम्बाइको यस सडकको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । सडकको ४६ दशमलव ४९ किमी सडक निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको ३६.३२३ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा पर्ने सात हजार ७१० वटा रुख÷पोल हटाउन योजना कार्यालय र वन तथा भूसंरक्षण विभागबिच २०८१ को माघ २० गते सम्झौता भएपछि रुखमा छपान सुरु भएको हो ।
मदन भण्डारी राजमार्ग आयोजना दमकका इन्जिनियर स्वस्तिका भट्टराईका अनुसार धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडक खण्डमा पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडक खण्डमा तीन हजार ६८९ वटा रुख पर्छन् ।
यस्तै बारफलाङ्फेदीदेखि शान्तिनगरसम्म दुई हजार ८८० वटा रुख रहेका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको डिपिआर भएको जङ्गल क्षेत्रभित्रका छपान लगाएका रुख २८ महिना यता कटान भएका थिएनन् । इन्जिनियर भट्टराईले भन्नुभयो, “सुनसरीको सर्दु खोलादेखि झापाको बेलडाँगीसम्म ४६ किलो मिटर सडक खण्डमा वनको ३६ हेक्टर जग्गा पर्छ । उक्त जग्गा भोगाधिकारका लागि सरकारले स्वीकृति दिएको छ ।” भौतिक योजना र वन मन्त्रालयबिचको समन्वयमा रुखमा छपान सुरु भएको हो । साइट खाली भएपछि सडक निर्माण अगाडि बढ्ने भट्टराईको भनाइ छ ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख वन अधिकृत उत्सव थापाले केराबारी क्षेत्रबाट रुखमा छपान सुरु गरिएको बताउनुभयो । फागुन १ गतेबाट वन प्राविधिकले रुखमा छपान सुरु गरेको र छपान सकिए विभागमा लगत पठाइने कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।
आयोजनाका सूचना अधिकृत सुभाष दत्तका अनुसार यो राजमार्गको कोशी प्रदेश खण्डमा सुनसरीको सर्दु खोलादेखि झापाको पातापुरसम्म १२७.८ किमी लम्बाइ पर्छ । यसमध्ये कमल खोलादेखि सहादतस्थलसम्म ३२ किमी र चतरादेखि सर्दु खोलासम्म छ किमी ठेक्का लागेको छैन । ३२ किमीको आइइई नै भएको छैन भने छ किमीको ठेक्का प्रव्रिmया सुरु भएको छ । ठेक्का लागेको ९५ दशमलव ८ किमी हालसम्म ४१.६८ किमी सडक कालोपत्रे भएको छ । जसमध्ये मोरङमा २०.६५ किमी सडक मात्र कालोपत्रे सडक भएको छ ।
आयोजनाको कोशी प्रदेश खण्डमा ३७ वटा पुलको ठेक्का व्यवस्थापन भएको छ । यसमध्ये २२ वटा पुल निर्माण सम्पन्न भएका छन् । बाँकी १५ वटा पुलमध्ये नौ वटा पुलको एप्रोच सडकमा वन क्षेत्र रहेको छ । यस योजनाको हालसम्म ८० प्रतिशत भौतिक र ७८ प्रतिशत वित्तीय प्रगति भएको छ । भौतिक प्रगति औसतमा ८० प्रतिशत रहेको छ ।