• १० फागुन २०८१, शनिबार

उद्योगमा दक्ष कामदार अभाव

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ९ गते  । आर्थिक मन्दीका कारण उत्पादन कटौती गर्नु परेको गुनासो गर्दै आएका रुपन्देहीका उद्योगीले नेपालमा दक्ष जनशक्ति (श्रमिक) को अभाव हुँदा उद्योग चलाउन भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् । 

नेपालमा दक्ष श्रमिक जनशक्ति नहुँदा अझै पनि भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीको गुनासो छ । रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदारले काम गरिरहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परेको गुनासो गरेका हुन् । 

रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष माधव पौडेलले आर्थिक मन्दीका कारण रुपन्देहीका धेरै उद्योगले उत्पादन कटौती गरिरहेको बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ नयाँ प्रविधिको मेसिन आउन गरेको र मेसिन चलाउन सक्ने श्रमिक जनशक्ति नेपालमा नहुँदा भारतबाट दक्ष श्रमिक ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । 

उद्योगी यादव भण्डारीले पछिल्लो समय नयाँ नयाँ स्वचालित मेसिन नेपाल भित्रिरहेको तर नेपालमा ती स्वचालित मेसिन चलाउन जान्ने जनशक्ति नहुँदा बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

उद्योग सङ्घका पूर्वअध्यक्ष पौडेलले बुटवलका धेरै उद्योगको उत्पादन आधा कटौती भएको बताउनुभयो । उहाँका अनुसार नयाँ उद्योग स्थापना गर्ने उद्योगीले विदेशबाट ल्याउने स्वचालित मेसिन चलाउन सक्ने जनशक्ति अहिले भारतबाटै ल्याउनुपर्ने अवस्था रहेको छ । 

त्यसै गरी छड, सिमेन्ट, रोलिङलगायत उद्योगमा आवश्यक जनशक्तिसमेत अधिकांश भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीको भनाइ छ । रुपन्देहीमा उद्योगको उत्पादन मात्रै होइन, उद्योगसमेत अहिले बन्द हुने क्रम बढिरहेको छ ।  

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा १६८ उद्योग बन्द भएका छन् । आव २०८१/८२ को साउनदेखि पुससम्म छ महिनामा बन्द हुने उद्योगमा उत्पादनमूलक ७७, सेवामूलक ४५, पर्यटनसँग सम्बन्धित २५१ तथा २१ वटा कृषिजन्य उद्योग रहेका छन् । उद्योग बन्द हुँदा कम्तीमा चार हजार जनाले रोजगारीसमेत गुमाएको कार्यालयले जनाएको छ । 

उद्योग बन्द हुँदा नेपालीले रोजगारी गुमाउनुपर्ने अवस्था एकातिर छ भने दक्ष कामदारको अभावमा नेपालकै उद्योगले जनशक्ति भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यही बाध्यता अन्त्य गरी नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले रुपन्देही उद्योग सङ्घले दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) को सहकार्यमा सिप विकास तालिम सञ्चालन गर्दै आएको छ । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले इन्स्योर परियोजनाको सहयोगमा उद्योगमा रहेको जनशक्तिको अभाव पूर्ति गर्न सिप अभिवद्धि तालिम सञ्चालन गर्दै आएको र केही भए पनि नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुगेको बताउनुभयो । 

सङ्घ र इन्स्योर परियोजनामार्फत गत साता मात्रै सम्पन्न तालिममा २४९ वटा उद्योगका ३११ जनशक्तिलाई विभिन्न विषयका तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सिटिइभिटीलगायतका तालिमप्रदायक संस्थाले उद्योगी व्यवसायीसँग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पूरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनुभयो ।