• १० फागुन २०८१, शनिबार

मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने

blog

ज्ञानु पंगेनी 

मध्यविन्दु, फागुन ८ गते । नवलपरासी पूर्व (नवलपुरमा) मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने भएको छ । मध्यविन्द नगरपालिकाले वडा सातमा रहेको नवजागरण नमुना माविको रङ्गशालमा यही फागुन २२ गतेदेखि २४ गतेसम्म कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आयोजना गर्न लागेको हो । 

बिहीबार पालिकाले पत्रकार सम्मेलन गर्दै  महोत्सवको  बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख भिमलाल अधिकारीले नवीनतम कृषि प्रविधि तथा उपकरणहरूको प्रदर्शनी, परम्परागत रैथाने खानाको प्रवर्धन र संरक्षण, कृषक उद्यमी तथा प्राविधिक÷अनुसन्धानकर्ता बिच अन्तक्रिया गर्ने अवसर सृजना गर्ने उद्देश्यले प्रदर्शनीको आयोजन गर्न लागिएको जानकारी दिनुभयो ।

यस्तै सर्वसाधरणहरूमा कृषि क्षेत्रका नवीनतम प्रविधिहरूको जानकारी पुर्‍याउन, स्थानीय उत्पादनको बजार प्रवर्धनमा सहयोग पुर्‍याउनका साथै कृषि बाली तथा पशुपक्षी बिमाबाट कृषकलाई लाभान्वित गराउन र वित्तीय संस्था मार्फत कृषि कर्जाका लागि सहजीकरण गर्न मद्दत पुग्ने अपेक्षा समेत यस कार्यक्रमबाट लिएको  नगर प्रमुख अधिकारीले बताउनुभयो । 

कार्यक्रम अवधिभर आधुनिक कृषि प्रविधि, जैविक कृषि, स्मार्ट कृषि उपकरण, रैथाने बिउबिजन तथा मलको प्रदर्शनी र बिक्री, कृषि विज्ञ सरोकारवालासँग अन्तरसंवाद, विभिन्न भेगका रैथाने परम्परागत परिकारहरूको प्रदर्शनी, स्वाद परीक्षण तथा बिक्री, अन्तर विद्यालय कृषि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न जातजातिका मौलिक सांस्कृतिक प्रस्तुतिका कार्यक्रम हुने अधिकारीले बताउनुभयो ।

महोत्सवमा स्थानीय कृषकहरू, कृषि अनुसन्धानकर्ता तथा विद्यार्थी, कृषि प्रविधि तथा खाद्य प्रशोधन उद्यमी, व्यवसायी तथा स्थानीय उत्पादक, सम्बन्धित सङ्घसंस्था र वित्तीय सङ्घसंस्था समेत गरेर २५ हजार जनाले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा रहेको अधिकारीले बताउनुभयो । 

प्रदर्शनी सञ्चालन गर्न १८ लाख ५० हजार रुपियाँ खर्च हुने आँकलन गरिएको छ । महोत्सवमा कृषि, प्रविधि तथा रैथाने खानाका लागि स्टल प्रवेशलाई निः शुल्क गरिएको छ भने अन्य केही (होटेल तथा अन्य व्यावसायिक प्रतिष्ठान) स्टलहरूका लागि रकम लिने तयारी गरिएको छ ।