• ९ फागुन २०८१, शुक्रबार

बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधी

blog

तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन ८ गते । क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरपीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधी पाउने बताउनुभएको हो ।

उहाँले क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)लगायत संस्थाहरुले औषधी उपलब्ध गराएपछि थप सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चार वटा अस्पतालबाट बालबालिकाका लागि क्यान्सरको उपचार निःशुल्क भनेर तीन महिनादेखि नै कार्यान्वयन गर्दै आएका छौँ । यसका लागि चारवटै अस्पताललाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । अब हामीलाई थप सहज भएको छ । डब्लुएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधी प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको छ । यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढङ्गबाट लक्षित समूहसम्म पुर्‍याउने काम हुन्छ ।’’

उहाँले औषधीका वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने जानकारी दिनुभयो । काठमाडौँको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधी वितरण हुने उहाँको भनाइ छ ।

‘‘बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्‍याउने गरी प्रावधानको प्रवन्ध गरिनु पर्छ भनेर भनिरहेका छौँ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘त्यसैले कति सक्छौँ अरु पक्षहरूबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चारवटा अस्पतालबाट व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्याकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरूबाट निःशुल्क औषधी उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित हिसाबले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’’

स्वास्थ्य मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधी आवश्यकताका आधारमा सर्वसुलभ रूपमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले भनसुनको भरमा औषधी वितरण गर्ने नभई सिस्सटमको आधारमा सेवा प्रवाह हुने जानकारी दिनुभयो । उहाँले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधीको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ, यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिलेदेखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गछौँ ।’’
ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधी उपलब्ध गराउने भएको छ ।

संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधीहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधीको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधी हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोवल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधीको पहिलो चरणको औषधी प्राप्त गरेको थियो । 

बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधी दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधी खरिद गरेको हो । नेपाललाई उक्त औषधी निःशुल्क उपलब्ध गराइएको हो ।