भर्खरै अमेरिकाको लस एन्जलसमा लागेको भीषण आगलागीको कहालीलाग्दो दृश्यबाट विश्वभर एवं नेपालमा पनि त्यसको मनोवैज्ञानिकस्तरमा ठुलो असर पर्यो । जनवरी ७ देखि ३१ सम्म लागेको सो आगलागीका कारण करिब १८ हजार घर संरचना ध्वस्त भएका र २३ हजार हेक्टर भूमिमा आगो लागेको पछिल्लो अध्ययनले देखाएको छ । करिब दुई लाख मानिसलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आइपरेको थियो । सो आगलागीबाट कम्तीमा पनि २९ जनाको ज्यान गएको थियो । आगोको फैलावट कुनै दिन त एक सय माइल प्रतिघण्टाको दरमा फैलिएको अभिलेखसमेत छ ।
सुक्खायाममा संसारभरि रहेको करिब ३० प्रतिशत वन क्षेत्रमध्ये प्रत्येक वर्ष करिब चार प्रतिशत वन क्षेत्रमा डढेलो लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपालकै सन्दर्भमा विज्ञहरूको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिए अनुसार सन् २००१ देखि २०२० सम्ममा नेपालमा प्रतिवर्ष औसतमा एक लाख ७२ हजार हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको थियो । यसबाट प्रतिवर्ष ७० लाख टन जैवीय पिण्डको क्षति भएको र ३३ लाख टन कार्बन उत्सर्जन प्रतिवर्ष भएको भन्ने उक्त प्रतिवेदनले उल्लेख गरेको छ । नेपालमा यही माघमा देशभरि कुल दुई सय वटा वनडढेलो लागेकोमा संरक्षित क्षेत्रमा ७६ वटा (३८ प्रतिशत) र संरक्षित क्षेत्रबाहिर १२४ (६२ प्रतिशत) लागेको देखिन्छ । तीमध्ये बागमती प्रदेशका धादिङ, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुलीमा गरी १५ वटा (७.५ प्रतिशत) वनडढेलो घटना भएको देखिएको छ । आगामी दिनमा डढेलोका घटना अझ बढेर जाने छ । प्रस्तुत पृष्ठभूमिमा हेर्दा वनडढेलो नेपाललगायत विश्वभरि नै एउटा बृहत्तर चुनौती र जोखिमका रूपमा बढ्दै गएको देखिन्छ ।
वनडढेलो लाग्नुको प्रमुख पक्ष
वनडढेलो लाग्नका लागि मुख्यतः तीन पक्षले काम गरेको हुन्छ । आगो लाग्न पहिलो पक्ष इन्धनका रूपमा सुक्खा पातपतिङ्गर, हाँगाबिँगा, घाँस, खर, बाबियो जस्ता चिज हुन्छन् । आगो लाग्नका लागि चाहिने सुक्खा आद्र्रता अर्को पक्ष हो र हावामा रहने अक्सिजन तेस्रो पक्ष हो; जसलाई सरलताका लागि ‘अग्नि त्रिकोण’ भनेर नामकरण पनि गरिएको छ । वनमा लाग्ने आगलागीका लागि विभिन्न पक्षले प्रभाव पारिरहेको हुन्छ । पानी नपरी सुक्खामा ठुलो मात्रामा सुकेका पातपतिङ्गर र हाँगाबिँगा थुप्रिएर रहँदा आगलागीको ठुलो जोखिम हुन्छ । तीव्रतर चल्ने वायुको वेगले पनि आगलागीको फैलावटमा सहयोग पुर्याउँछ । लामो समय पानी नपरी जमिनमा चिस्यानको मात्रामा कमी आउँदा पनि वनडढेलोको प्रकोपमा बढोत्तरी हुन्छ । चट्याङ पर्दा वा ज्वालामुखीको विस्फोटबाट लाग्ने प्राकृतिक कारणको वनडढेलो भए पनि नेपालको हकमा मान्छे नै आगलागीको प्रमुख कारण हो । गाईवस्तुका लागि चरन क्षेत्रमा घाँस पलाउने उद्देश्यले, जडीबुटी खोजी गर्ने, सिकार गर्ने, मनोरञ्जन वा पिकनिक जाँदा प्रयोग गरिएको आगो ननिभाउँदा वा धूमपान गरी चुरोट वा बिँडीको ठुटो वनजङ्गलमा फाल्दा वनमा डढेलो लाग्ने गरेको छ । कतै कतै अवैध रूपमा बोटवृक्ष काटी सोको प्रमाण नष्ट गर्ने उद्देश्यले पनि वनमा डढेलो लगाउने गरिएको छ । मान्छेले जानी जानी वा लापर्बाही गरेर वन क्षेत्रमा आगलागी हुने गरेको छ ।
वनडढेलोको प्रतिकूल प्रभाव
हरेक वर्ष वन क्षेत्रमा लाग्ने आगलागीबाट हामीले बृहत्तर खालका वातावरणीय, आर्थिक तथा सामाजिक क्षति बेहोरिरहेका छौँ । वनमा लाग्ने आगलागीबाट विभिन्न प्रकारका बोटबिरुवा, वन्यजन्तु र तिनका वासस्थानमा क्षति पुग्दा स्थानीय पारिस्थितिकीय प्रणालीबाट प्राप्त हुने विविध प्रकारका सेवाको सततः आपूर्तिमा व्यवधान पुग्छ । सङ्कटग्रस्त, दुर्लभ र लोपोन्मुख प्राणी तथा वनस्पतिको विनाश हुन पुगी उनीहरू यो पृथ्वीबाटै हराएर जान सक्ने अवस्था उत्पन्न हुन पुग्छ । यसबाट हामीले भविष्यमा ठुलो आर्थिक तथा वातावरणीय नोक्सानीसमेत बेहोर्नुपर्ने हुन्छ । वनडढेलोका कारण वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जनमा थप योगदान पुगी जलवायु परिवर्तनले ल्याउने जोखिम बढेर जाने देखिन्छ र नेपालले सन् २०४५ सम्ममा लिएको शून्य कार्बन उत्सर्जनको लक्ष्यमा समेत व्यवधान पुग्न सक्छ । जलवायु अनुकूलनका निमित्त लिइएका रणनीतिमध्ये अधिकांश प्रकृतिमा आधारित सामाधानमा निर्भर रहेकाले वनडढेलोको कारणबाट यो अनुकूलनको लक्ष्य प्राप्तिमा समेत अवरोध पैदा हुन सक्छ । नेपालसमेत पक्ष राष्ट्र रहेको सन् २०१५ बाट कार्यान्वयनमा आएको सन् २०३० सम्मको १५ बर्से दिगो विकास लक्ष्य प्राप्तिका लागि लिइएका रणनीतिमध्ये अधिकांश जैविक विविधता क्षेत्रसँग सरोकार राख्ने रहेकाले नेपालका वनजङ्गलमा बर्सेनि लाग्ने वनडढेलोको प्रकोपबाट दिगो विकास लक्ष्य प्राप्तिमा समेत बाधा व्यवधान खडा हुने छ । वनडढेलोका कारण जमिन नाङ्गिन पुग्दा तत्कालै वर्षा भएमा सो क्षेत्रमा विशाल भूक्षय भई मलिलो माटो बग्ने, भूस्खलन हुने जस्ता प्राकृतिक विपत्ति आउन सक्छन् । यसका अतिरिक्त आगलागी भएको क्षेत्रमा माटोको संरचना र बनोटमा
समेत परिवर्तन हुन पुगी कतिपय महत्वपूर्ण प्रजातिका बिरुवा उम्रन नसक्ने अवस्थासमेत उत्पन्न हुन पुग्छ । वनको आगलागीले गर्दा स्थानीय बसोबासका क्षेत्रमा समेत आगलागी भई ठुलो मात्रामा जनधनको क्षति भइरहेको छ । आगलागीबाट स्थानीय वायुमण्डलमा कुहिरो, तुवाँलोको कारणले स्थानीय जनजीवन प्रभावित हुने र वायु प्रदूषणका कारण विभिन्न प्रकारका श्वासप्रश्वाससँग सम्बन्धित रोगको सङ्क्रमण हुन पुगी मानवीय स्वास्थ्यमा प्रतिकूलतासमेत ल्याउने छ । स्थानीय सुन्दर हरियाली परिवेशमा क्षति हुन पुगी पर्यापर्यटनसँग सम्बन्धित उद्यमशीलतामा समेत व्यवधान पुग्न जान्छ ।
वनडढेलोको नियन्त्रण र व्यवस्थापन
वन विज्ञानमा वनडढेलोको अध्ययन अध्यापन गराउँदा एउटा महत्वपूर्ण भनाइ अनवरत भनिन्छ, “आगो असल सेवक तर खराब गुरु हो ।” वन व्यवस्थापनमा वनडढेलो एउटा व्यवस्थापकीय साधनका रूपमा प्रयोग गर्न सकिन्छ । सुक्खा मौसमको सुरुवातीअगाडि नै पातपतिङ्गर झरेर धेरै जम्मा हुनुभन्दा पहिल्यै निर्देशित र नियन्त्रित रूपमा वनमा आगो लगाउनाले वनको पुनरोत्पादन चाँडै आउनमा सहयोग पुग्छ र केही वन्यजन्तुका लागि अनुकूल वासस्थानसमेत सिर्जना हुन पुग्छ । यस्तो नियन्त्रित आगो वन व्यवस्थापनको साधन बन्न पुग्छ । यसका लागि विभिन्न वातावरणीय पक्षमा ध्यान पुर्याउनु आवश्यक छ ।
नेपालको सन्दर्भमा वनमा लाग्ने डढेलो मान्छेबाटै सिर्जना हुने हुँदा वनमा आगो लगाउँदा हुने क्षति र नोक्सानीप्रति आमजनसमुदाय संवेदनशील र सचेत हुनु वनडढेलोको रोकथाममा पहिलो सर्त हो । आगोको सानो झिल्कोले व्यापक विनाश ल्याउने र यस्तो आगो व्यापक रूपमा फैलिँदा नियन्त्रण गर्न कठिन भई विशाल स्रोतसाधनको उपयोग गर्नुपर्ने अवस्था आउन सक्छ । आगो लाग्नै नदिने उपायका रूपमा सार्वजनिक सचेतना यस सन्दर्भमा महत्वपूर्ण हुन्छ । वनजङ्गलको महत्व र उपादेयता, यसको नोक्सानी हुँदा भोग्नुपर्ने आर्थिक, सामाजिक तथा वातावरणीय पीडाको विषयमा आमसर्वसाधारणलाई सचेत र जागरण गराउन सकिएमा वनमा आगो लाग्ने सम्भावना न्यून भएर जान्छ । नेपालको वन व्यवस्थापनमा समुदायमा आधारित व्यवस्थापन पद्धति अवलम्बन गरिएको र हाल ३० हजारभन्दा बढी नै स्थानीय वनसमूह गठन र व्रिmयाशील रहेकाले यस्ता समूहका समिति पदाधिकारीले वनडढेलो लाग्न नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । वनडढेलो लाग्ने सिजन प्रमुखतः फागुनदेखि सुरु भएर जेठसम्म हुने हुँदा आगलागी सिजन सुरु हुने महिनाभरि नै सामुदायिक वन समूह, स्थानीय वन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय प्रशासनिक निकायले वनडढेलोको विषयमा व्यापक प्रचारप्रसार अभियान सञ्चालन गर्नु पर्छ । स्थानीय वन कार्यालय, समूह र सुरक्षा निकायले आगलागी धेरै र बारम्बार भइरहने क्षेत्रको पहिचान र नक्साङ्कन गरी त्यस्ता जोखिम क्षेत्रमा जनचेतना जगाउन जरुरी छ ।
स्थानीय वन कार्यालयमा वनडढेलो नियन्त्रणका लागि चाहिने आर्थिक स्रोत र आवश्यक सवारीसाधन तथा अन्य उपकरण ज्यादै नै न्यून भएकाले प्रदेश सरकारहरूले यस विषयमा ध्यान केन्द्रित गरी वनडढेलो नियन्त्रणका लागि यसमा संलग्न रही सरोकार राख्ने कार्यालय र सङ्घ संस्थालाई यथोचित बजेट र स्रोतसाधनको व्यवस्था मिलाइदिनुपर्ने हुन्छ । केन्द्र सरकारबाट समेत वनडढेलो नियन्त्रणका लागि आवश्यक स्रोतसाधनको प्रबन्ध प्रदेश सरकार तथा स्थानीय सरकारलाई मिलाइदिनु पर्छ । हरेक स्थानीय तहले पनि आफ्नो स्थानीय तहमा रहेका वनजङ्गलमा लाग्ने वनडढेलो नियन्त्रणका निमित्त आवश्यक स्रोतसाधनको प्रबन्ध गरी स्थानीय वन कार्यालय, सुरक्षा निकाय, स्थानीय सामाजिक सङ्घ संस्थासँग समन्वयात्मक ढङ्गले कार्यसम्पादन गर्नु पर्छ ।
वन क्षेत्रमा लाग्ने कतिपय वनडढेलो नियन्त्रण गर्न नसक्नु र आगलागी भएमा फैलिन नदिने व्यवस्था गर्न नसक्नुमा वन क्षेत्र प्रभावकारी व्यवस्थापनको मोडेलमा जान नसकेरसमेत हो । दिगो वन व्यवस्थापन पद्धति अनुसरण गरी वन क्षेत्रलाई विभिन्न खण्ड, उपखण्ड र मिनी खण्डमा विभाजन गरी वनपथ र अग्निपथ निर्माण गरी आगलागीको सुरुवाती सिजनमा यस्ता विभिन्न वनपथको किनारामा निर्देशित आगलागी गराउन सकिएमा वनडढेलो लाग्दै नलाग्ने तथा एउटा खण्ड वा उपखण्डमा आगो लागिहाले पनि अन्यत्र फैलँदैन । नेपालका सबै वनलाई दिगो वन व्यवस्थापनको पद्धतिमा रूपान्तरण गर्नु नै दीर्घकालीन रूपमा वनमा लाग्ने आगलागी नियन्त्रण गर्ने प्रमुख रणनीति हो । अर्को पक्ष वनमा लागेको आगो निभाउने क्रममा मानवीय क्षतिसमेत भएको छ । वनमा लाग्ने आगोको व्यवहार, स्थानीय भूपरिवेशको अवस्था र वायुको गति, दिशा र प्रभावको ज्ञान नहुनाले बढी क्षति पुगेको छ । आगलागी नियन्त्रणमा खटिने मानवीय स्रोतलाई आगो नियन्त्रणका विषयमा पर्याप्त तालिम र प्रशिक्षण उपलब्ध गराउनु पर्छ । अग्नि नियन्त्रणका आधुनिक उपकरणले समेत सुसज्जित तुल्याउनु आवश्यक छ ।
वन क्षेत्रमा लाग्ने वनडढेलोको नियन्त्रणको निमित्त आमसार्वजनिक सचेतना जागरण अभियान पहिलो सर्त हो । वनको दिगो व्यवस्थापनको मोडेल अवलम्बन गर्नु अग्नि नियन्त्रणको दीर्घकालीन रणनीति हो । वनडढेलो नियन्त्रणका लागि पर्याप्त स्रोतसाधन र आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्थापन र केन्द्र, प्रदेश एवं स्थानीय सरकार तथा स्थानीय वनसमूह, सङ्घ संस्थाको बिचमा प्रभावकारी समन्वय र सूचनाको आदानप्रदान वन आगलागी नियन्त्रणका महत्वपूर्ण पक्ष हुन् ।