• ८ वैशाख २०८२, सोमबार

रेडक्रसलाई अन्तिम म्याद

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ८ गते  । नेपाल रेडक्रस सोसाइटीलाई विधानविपरीतका गतिविधि रोकेर विधानसम्मत अधिवेशनका लागि २०८२ जेठ १७ गतेसम्म अन्तिम म्याद दिइएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को रेडक्रस सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले तोकिएको समयमा अधिवेशन सम्पन्न नभए संस्था निलम्बनमा पर्न सक्ने भन्दै उक्त समयावधि तोकेको हो ।

हालका दुईपक्षीय विवादलाई समाधान गर्ने, विधान अधिवेशनमार्फत सहमतिको विधान निर्माण गर्ने र सोही विधान अनुसार अधिवेशन सम्पन्न गर्ने गरी सिएमसीले समय तोकेको हो । २०८० साउन १ र २ गते काठमाडौँमा सम्पन्न अधिवेशनबाट सुदर्शन नेपालको अध्यक्षतामा ३५ सदस्य निर्वाचित भएका थिए तर केन्द्रीय समितिले विधानविपरीत वरिष्ठ उपाध्यक्षसहित ३५ बाट ५७ सदस्य बनाएपछि रेडक्रसमा विवाद चुलिएको हो । 

महामन्त्री भूपतिलाल श्रेष्ठले भन्नुभयो, “नेपालको कानुन र संस्थाको विधान अनुसार महाधिवेशन हुन्छ । अन्य सङ्घ संस्थाको सुझावलाई परिपालन गर्ने पहल गर्छौं । सुदर्शन नेपाल नेतृत्वको हालको टिम सरकार र जिल्ला प्रशासन कार्यालय काठमाडौँले अधिवेशन गर भनेपछि निर्वाचित भएर आएको हो । यदि सरकारले अवैधानिक भन्छ भने हामी एक मिनेट पनि बस्दैनौँ ।”      

सिएमसीले ‘समाधान खोज्न असफल भए नेपाल रेडक्रस सोसाइटीमा भएका व्यक्तिलाई तुरुन्तै प्रतिबन्धको सिफारिस गर्न बाध्य पार्न सक्छ भन्ने पत्र पठाएको छ ।