रामकृष्ण बोहरा
बागलुङ, फागुन ७ गते । बागलुङ नगरपालिका ७ कालीमाटीको गैह्रागाउँमा भगत सर्वजित विश्वकर्माको सम्झानामा निर्मित हुने प्रतिष्ठानका योजना अलपत्र परेका छन् । प्रतिष्ठानको योजना अन्तर्गत निर्मित भवन ६ वर्षदेखि अलपत्र परेको छ ।
संरक्षणको जिम्मा लिएर सरकारी बजेट परिचालन गर्ने प्रतिष्ठानको समिति नै निस्कृय बनेपछि भवन अलपत्र परेको हो । जातिय विभेद विरुद्धका अगुवा भगत सर्वजित विश्वकर्माको सम्झनामा २० लाख रुपियाँ खर्चेर निर्माण गरिएको प्रतिष्ठानको भवन अलपत्र परेको हो । समिति निष्क्रिय बनेपछि संरक्षण अभावमा भवन जीर्ण बनिसकेको छ । भगत सर्वजितका छोराको निधन भैसकेको र समितिका सदस्यहरु पनि बसाइ सर्न थालेपछि पूर्वाधार निर्माणका योजनाहरु अलपत्र परेको प्रतिष्ठानका सचिव परशुराम सुनारले जानकारी दिनुभयो ।
सामाजिक अगुवाहरुले भगत सर्वजितको घर संरक्षण गर्ने, संग्राहलय बनाउने तथा भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान संचालन गर्न केही वर्षअघि गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट रकम लगेका थिए । गैह्रागाउँमा निर्माण गरिने भनिएको संग्राहलय र भगत सर्वजितको मुर्ति बनाउने योजना अलपत्र भएको स्थानीय हर्कमान बिकले बताउनुभयो ।
धमाधम बसाइ सरेर कोही सदरमुकाम त कोही राजधानी गैसकेकोले गैह्रागाउँमा सञ्चालित प्रतिष्ठानका योजनाका लागि काम गरिदिने कोही नभएको सचिव सुनारको भनाई छ । प्रतिष्ठानलाई आफ्नै घरमा राख्ने, संग्राहलय बनाउने, भगतको मुर्ति कुँद्ने र पर्यटकीय गन्तव्य बनाउने लक्ष्य आफ्नै कारणले तुहिएको सचिव सुनारले स्वीकार्नु भयो ।
भगत सर्वजित विश्वकर्मा शिक्षाको थालनी गरेर जागरण ल्याउने व्यक्ति भएको स्थानीय शिक्षक पशुपति शर्माले बताउनुभयो । विश्वकर्माकै नामको प्रतिष्ठान र योजना अलपत्र पर्नु दुखद भएको बताउँदै शर्माले भन्नुभयो, "प्रतिष्ठान अन्तर्गत बनेका संरचनाको संरक्षण र अधुरा रहेका अन्य संरचनालाई सम्पन्न गरी सर्वजितका योगदानलाई जिवन्त राख्नुपर्छ ।"
सदरमुकाम बागलुङबाट डेढ घण्टाको यात्रापछि पुगिने गैह्रागाउँमा भवन, प्रतिष्ठान र अन्य योजना अलपत्र परेका हुन् । प्रतिष्ठानको भवन झाडीले घेरेपछि फोहोर देखिन्छ । तत्कालिन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले शिलान्यास गर्नुभएको थियो ।