• ९ फागुन २०८१, शुक्रबार

बढ्दै फोहोर व्यवस्थापनको समस्या

blog

कुश्मा नगरपालिकाको सामुदायिक वन क्षेत्रमा रहेको डम्पिङ साइट । तस्बिर : प्रनिश गिरी

प्रनिश गिरी
कुश्मा (पर्वत), फागुन ७ गते ।
पर्यटकीय जिल्लाको रुपमा चिनिदै आएको पर्वतमा दैनिक जसो उत्पादन हुने घरायसी, व्यावसायिक र चिकित्सालगायतका फोहोर व्यवस्थापनको समस्या बढ्दो देखिएको छ । जिल्लामा रहेका कुश्मा र फलेवास दुई नगरपालिकासहित पाँच गाउँपालिका गरी सातवटै स्थानीय निकायमा बढ्दो जनसङ्ख्या र बजारीकरणसँगै फोहोर उत्पादन बढ्दो छ ।

जिल्लाका गाउँघरमा बसाईसराइँबाट मानववस्ती रित्तिँदै गए पनि सङ्घीयता लागू भएपछि बनेका स्थानीय गाउँपालिका केन्द्र आसापास बजार बन्ने क्रम बढ्दो छ । पालिकाहरुमा बजारीकरण हुँदा फोहोर व्यवस्थापनको चुनौती थपिएको हो । पोखरा–बाग्लुङ पृथ्वी राजमार्गसँगै सटेको डिमुवा र पातीचौर बजार मोदिगाउँपालिका पर्दछ । मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा छ । बजार क्षेत्रबाट दैनिकजसो उत्पादन हुने एक ट्याक्टर फोहोर व्यवस्थापनको चुनौती पालिकालाई थपिएको छ ।

मोदी गाउँपालिकाले मोदीखोला नजिकै नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको जग्गामा डम्पिङ साइट बनाएर फोहोर फाल्ने गरेको छ । गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार प्राधिकरणले ६ महिनाभित्र हटाउन तोकता गरेपछि उपयुक्त जग्गा र प्रविधिको खोजी पालिकाले गर्दैछ । यसअघि पालिकासहित बजार क्षेत्रको फोहोर पोखरा–बाग्लुङ राजमार्गसँगै मोदीखोलाको किनार महभीर साइडमा फालिने गरिन्थ्यो । जिल्लामा कुनै पनि स्थानीय निकायले फोहोर व्यवस्थापनको दिगो तरिकाहरु फोहोरबाट उर्जा रुपान्तरण गर्ने, फोहोर घटाउने, रिसाइकल गर्ने काम गरेका छैनन् ।

फोहोरजन्य पदार्थहरु प्लाष्टिक, बोतल, कागज, शीशा, गिलास, इलेक्ट्रिक फोहोर, चिकित्सक फोहोर, धातुलाई खोल्साखोल्सी, भिर, नदी, घाट, सामुदायिक वन लगायतका क्षेत्रमा अव्यवस्थित तरिकाबाट फालिएको देखिन्छ । प्रदेश अस्पताल पर्वतले चिकित्सा फोहोर आफैँले आधुनिक प्रविधिको प्रयोग मार्फत् व्यवस्थापन गर्दै आएको अस्पताल सञ्चालक समिति अध्यक्ष शंकरी गिरी बताउनुहुन्छ । फोहोरको यत्रतत्र अवैद्य डम्पिङ साइट बनाइदा वातावरणीय प्रभाव र जनस्वास्थ्यको चिन्ता स्थानीयलाई परेको छ ।

जिल्लाको सदरमुकाम बजार रहेको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड) नामक गै¥हसरकारी संस्थालाई सुम्पेर फोहोर व्यवस्थापनको सम्झौता आर्थिक वर्ष २०७५÷०७६ मा ५ वर्षलाई गरिएको थियो । सम्झौता अनुसार उक्त संस्थाले फोहोर व्यवस्थापनबाट नगरपालिकालाई पाँच वर्षमा हुने आम्दानी भनी १ करोड ९१ लाख ५० हजार उल्लेख गरेको भए पनि विचमै संस्थाको पदाधिकारी सम्पर्कविहीन भएपछि नगरपालिकालाई लाखौ रकम नोक्सानी भएको छ । नगरपालिकाले संस्थालाई ल्याण्डफिल र टिपर उपलब्ध गराएको थियो ।

नगरपालिकाले स्थानीयबासीसँग शुल्क लिएर फोहोरको व्यवस्थापन गरेको छ । सामुदायिक जङ्गल क्षेत्रभित्र डम्पिङ साइट निर्माण गरेको कुश्मा नगरपालिकाले व्यवस्थित तरीकाले फोहोरको विसर्जन गर्न सकेको छैन । फोहोरमैला कामदारले आफूहरुलाई स्वास्थ्य जोखिम रहेको गुनासो गरेका छन् ।

जलजला गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले उद्योग वाणिज्य संघ पर्वतको शाखा गुनासो छ ।

पर्वतको कालीगण्डकी किनारमा रहेको मालढुङगा बजार क्षेत्र साथै सहस्रधारा आसपासका व्यवसायी र स्थानीयबासीले नदी किनारमा नै फोहोर फालिदिदा नदी क्षेत्र प्रदुषित बन्दै छन् भने वन्यजन्तुलाई समेत जोखिम छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने फलेवास नगरपालिकाको फलेवास बजार, विहादी गाउँपालिका लगायत महाशीला गाउँपालिका क्षेत्रमा पनि व्यवस्थित डम्पिङ साइटको निर्माण हुन सकेको छैन ।

पैयुँ गाउँपालिकाका सूचना अधिकारी अनिल कमल न्यौपानेले पालिकाको भुर्तेलथाके खोलाखर्कमा एक करोड ३० लाख खर्चिएर फोहोर व्यवस्थापन केन्द्रको निर्माण गरिएको बताउनुभयो । सूचना अधिकारी न्यौपानेका अनुसार फोहोर वर्गीकरण गरी नकुहिने फोहोर विक्री हुन्छ । वालिङ नगरपालिकासँग फोहोर व्यवस्थापनका लागि सहकार्य गरेको पैयुँ गाउँपालिकाले फोहोर विक्रीबाट वर्षमा तीनदेखि चार लाख आम्दानी गरेको जनाएको छ ।

जिल्लामै फोहोर व्यवस्थापन गरी आम्दानी गर्ने पालिका पैयुँ गाउँपालिका मात्रै रहेको छ । स्वच्छ र दिगो वातावरण कायम गर्न फोहोर व्यवस्थापन गर्नु पर्ने हुन्छ भने फोहोर व्यवस्थापन गर्नु स्थानीय निकायको महत्त्वपूर्ण कार्य भए पनि महत्त्व दिएको पाइदैन ।