अर्जुन काफ्ले
स्याङ्जा, फागुन ७ गते । लामो सयम मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका १ जोड्ने फलामे पुल मर्मत प्रदेश सरकारले गर्ने भएको छ ।
२८ वर्ष पहिला निर्माण भएको फलामे मोटरेबल पुल निर्माणपश्चात् एक पटक पनि मर्मतसम्भार नहुँदा दुई जिल्ला जोडिने पुल जीर्ण बनेको हो । २०५३ सालमा कालीगण्डकी ए, जलविद्युत् आयोजना निमार्णको क्रममा बनेको उक्त पुल मर्मत सम्भार नहुँदा कमजोर बन्दै गएकोले पैदल यात्री तथा सवारी साधनलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।
कालिगण्डकी ए, जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको उक्त पक्की पुुल लामो समयसम्म कुनै निकायको नजरमा नपर्दा कमजोर बन्दै गएको स्थानीय नारायण भट्टराईले बताउनुभयो ।
पछिल्लो समय गण्डकी प्रदेश सरकारले पुुल मर्मतका लागि ७० लाख विनियोजन गरेसँगै पुल मर्मत हुने भएको हो ।
पुलको बेस पिल्लर, छेउका बार, पुल स्पानको आधारमा कमजोर हुँदै जाँदा मर्मतभन्दा नया पुल बनाउनुपर्ने प्रविधिकको सल्लाह रहेको छ । दुई जिल्लाको प्रमुख सडकको रुपमा रहेको उक्त पुल ढिलो भए पनि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि भने समयमै मर्मत हुने कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
पुल मर्मतको लागि दुई जिल्लाका दुई पालिका र स्थानीयले सङ्घ-प्रदेश र सडक डिभिजन कार्यालयका पटकपटक प्रयास गरेकोमा बल्ल प्रदेश सरकारले चासो देखाएको हो । अहिले सो पुलबाट बुटवल हुँदै स्याङ्जाको मिर्मी, गुल्मीको हर्मीचौर,पुर्तीघाट,रुद्रबेनी लगायतका ठाउँमा सवारी साधन चल्दै आएका छन् ।
वर्षातको समयमा कालीगण्डकीको तीव्र छाल तथा बहावका कारण पुलमा क्षति पुगेर जीर्ण भएको भएपनी पुल मर्मतका लागि बजेट विनियोजन भएपछि भने पुल मर्मत हुनेमा स्थानीयहरुको आशा पलाएको छ ।
१५० मिटर लम्बाइ रहेको फलामे पुल परियोजना निर्माणको क्रममा पाँच करोडभन्दा बढी रुपियाँमा निर्माण भएको थियो । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी र बाग्लुङ सडक खण्डलाई जोडिने उक्त पुल मर्मतपश्चात् स्याङ्जा जिल्लालाई पनि कोरला नाकासँग जोड्न सहज हुनेछ ।
पुलको मर्मतले मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकलाई समेत नयाँ बाटो बन्नेछ ।