• ९ फागुन २०८१, शुक्रबार

खारा ब्यारेक नजिकै भेटियो बम

blog

बारीमा फेला परेको बम ।

राजु लामिछाने

रुकुमपश्चिम, फागुन ७ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकास्थित नेपाली सेनाको ब्यारेकनजिक फेरि अर्को बम फेला परेको छ । बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा ६ स्थित प्रदीप ओलीको बारीमा बम फेला परेको हो ।

बारीमा काम गर्ने क्रममा बम फेला परेको ओलीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ओलीको खेतबारीमा काम गर्ने क्रममा बम फेला परेको हो । 

स्थानीयले बमजस्तो देखिने फलामको धातु फेला परेको भनेर सूचना दिएपश्चात् प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक टि.एम. सारु मगरको नेतृत्वको प्रहरी टोली र नेपाली सेनाको चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट नेपाली सेनाको एक टोली घटनास्थल गएको छ । 

सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको र बम डिस्फोजल टोलीसँग समन्वय भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । यसअघि गत माघ २७ गते सोही वडाको बित्तास्थित लालिगुराँस सामुदायिक वन क्षेत्रमा र माघ ३० गते सोही स्थानको पात्लास्थित रमेश ओलीको बारीमा बम फेला परेको थियो । बम डिस्फोजल टेलीले ती बम डिस्फोज गरेको थियो । बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताइएको छ ।