• ८ वैशाख २०८२, सोमबार

गृहको कार्यसम्पादनमा रुकुमपश्चिम उत्कृष्ट

blog

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, फागुन ६ गते ।
गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिकको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम उत्कृष्ट भएको छ । रुकुमपश्चिमसहित पाल्पा र इलाम समान अङ्क प्राप्त गरी देशभरमा उत्कृष्ट भएका हुन् ।

रुकुमपश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१÷०८२ को दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरबाट रुकुमपश्चिम, इलाम र पाल्पा समान अङ्क प्राप्त गरी पहिलो भएका हुन् । तीन वटै जिल्लाले २० पूर्णाङ्कमा समान कुल १९ दशमलव ५ अङ्क प्राप्त गरेका छन् ।

गृह मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिकको परिणाम अनुसार १९ दशमलव ३७५ अङ्क ल्याएर कास्की, तेह्रथुम, रामेछाप र स्याङ्जा जिल्लाले दोस्रो स्थान हासिल गरेका छन् । त्यसैगरी पर्वत, बागलुङ र मनाङ जिल्लाले समान १९ दशमलव २५ अङकका साथ तृतीय स्थान हासिल गर्न सफल भएका छन् । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन कमजोर नतिजा १३ दशमलव ०६२५ अङ्क प्राप्त गरी बाजुरा ७७ औँ र १३ दशमलव ५६२५ अङ्क प्राप्त गरी खोटाङ ७६ औँ स्थानमा रहेका छन् । 

प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका गृह सचिवबिच हुने कार्यसम्पादन सम्झौता र विभिन्न सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गरिन्छ । जसअन्तर्गत कार्यसम्पादनमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन लगायतका विषयहरू पनि मूल्याङ्कनका सूचकहरू रहेका हुन्छन् ।