चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मेहनत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
चियाबाट राम्रो आम्दानीको सम्भावना देखेपछि पछिल्लो समय यहाँका किसानले खेती लगाउन थालेका हुन् । केही वर्षअघि परीक्षणका रूपमा लगाएको चिया खेती सफल भएपछि किसानले व्यावसायिक खेती नै सुरु गरेका छन् । किसानले लगाएको चिया खेतीबाट अहिले धमाधम उत्पादन हुन थालेको छ । आफूले लगाएको खेती अर्थात् बगैँचाबाट उत्पादन हुन थालेको चिया भने बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । जिल्लामा चिया खेती सुरु गर्नेमा हाल सदरमुकाम फुङ्लिङ बजारमा बसोबास गर्दै आउनुभएका फुङ्लिङ नगरपालिका–९, हाङ्देवाका वेदनिधि पौडेल पनि एक हुनुहुन्छ ।
पौडेलले फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको गढीडाँडा क्षेत्रमा निजी जग्गा र व्यक्तिगत खर्चमा चिया खेती लगाउनुभएको छ । करिब ८५ रोपनी क्षेत्रफल बराबरको जग्गामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताउनुभयो ।
हाल एक चरणको टिपाइबाट ५० देखि ७५ किलोग्रामसम्म चिया निस्किन थालेको उहाँले जानकारी दिनुभयो । मौसम अनुसार बर्खामा महिनैपिच्छे र हिउँदयाममा दुई/अढाई महिनाको अन्तरालमा चिया टिपाइ हुने गरेको उहाँले बताउनुभयो । चिया बगैँचा हुर्किंदै गएसँगै उत्पादन पनि बढ्ने क्रममा रहेको तर अहिले उत्पादन हुँदै आएको चिया बिक्री नभएको उहाँको भनाइ छ ।
उत्पादित चिया बिक्री नभएपछि यतिकै थन्क्याएर राख्नु परेको पौडेलले बताउनुभयो । चिया बिक्रीका लागि इलाम, झापालगायतका बजारमा पहल गर्दा पनि अहिलेसम्म सम्भव नभएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बिक्रीका लागि सम्पर्क भएका व्यापारीले चिया ठुलो परिमाणमा भएमा मात्र खरिद गर्ने बताउने गरेका छन् । व्यापारीले भने अनुसारको परिमाण नभएपछि चिया घरमा थन्क्याएर राख्नु परेको उहाँले बताउनुभयो ।
अहिले व्यक्तिगत सम्पर्कका सीमित उपभोक्ता र साथीभाइले मात्र चिया खरिद गरी उपभोग गर्दै आएका पनि उहाँले बताउनुभयो । चिया बिक्री नभएपछि मजदुरलाई पारिश्रमिक दिनै समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । मजदुरलाई दिने पारिश्रमिकलगायतमा भएको समस्यासँगै लामो समयसम्म थन्क्याउनु पर्दा सडेर जान सक्ने भएकाले थप चिन्तित बनाएको उहाँको भनाइ छ ।
उहाँले चिया बिक्री तथा बजार व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक भएको बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घ तीन वटै सरकारले चिया खेतीमा संलग्न साना किसान तथा उद्यमीका लागि आधारभूत सहयोगको योजना ल्याउन पनि उहाँले माग गर्नुभयो । चिया किसानका लागि बजारको व्यवस्थापन, चिया प्रशोधन गर्ने प्रविधि तथा दक्ष जनशक्ति उत्पादनका लागि तालिमको आवश्यक रहेको उहाँले बताउनुभयो ।
किसानलाई प्रोत्साहित गर्ने गरी तिनै तहका सरकारले सहयोग नगरेमा चिया खेती गर्न चाहने किसानको लगानी डुब्ने र उनीहरूमा निराशा छाउनुका साथै पेसाबाट पलायन हुनुपर्ने स्थिति आउन सक्ने पौडेलको भनाइ छ । उहाँले आफूले गर्दै आएको चिया खेतीका लागि हालसम्म तीन वटै तहका सरकारको कुनै सहयोग नभएको पनि बताउनुभयो । व्यक्तिगत लगानीबाटै चिया खेती सुरु गरेको र हाल ‘त्रिपल बी’ अर्गानिक चिया उद्योग दर्ता गरी विषादीरहित अर्गानिक चिया उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।