काठमाडौँ, माघ ६ गते । वामपन्थी नेता मोहनचन्द्र अधिकारीले नेपाली जनताले आफ्नो खुट्टामा उभिएर राणा शासनको अन्त्य गरेको बताउनु भएको छ ।
प्रजातन्त्र दिवसको सन्दर्भमा गोरखापत्र अनलाइनसँग उहाँले नेपाल परतन्त्र शासन व्यवस्थामा दौडिएको बेला नेपाली जनताले लडेर राणा शासनको अन्त्य गरेको बताउनु भएको हो ।
नेता अधिकारीले भन्नुभयो, “एउटा दास व्यवस्थाको अन्त्य त पहिले पनि भएको थियो तर जसरी हुनुपर्ने हो त्यो भइसकेको छैन । जनआन्दोलनले मुख्य गरेर २००७ सालमा विजय हासिल गरेको हो । नेपाल एउटा परतन्त्र शासन व्यवस्थामा दौडिएको बेला आफ्नो खुट्टामा उभिएर नेपालीले लडेर राणा शासनको अन्त गरेका हुन् । ती लडाकुहरुसँग हार्दिक गौरव गर्दछु ।”
उहाँले आफ्ना पूर्वज राजनीतिमा आबद्ध भएका कारण आफूहरु त्यो समय भारतमा बस्नु परेको अनुभव सुनाउनु भयो ।
उहाँले भन्नुभयो, “म भर्खरकै थिएँ । त्यो २००७ सालमा देखेकै आन्दोलन हो । म १३ वर्षको थिएँ । हामी इण्डियामा गएर केही समय बस्नुपर्यो । मेरो पूर्वज पनि राजनीतिसित आबद्ध हुनुभएको थियो । हाम्रो घर पनि सरकारले लिलाम गर्याे । २००७ सालको आन्दोलन पछाडि हामीले आफ्नो घर लिन सकेनौं ।”
उहाँले प्रजातान्त्रिक आन्दोलन स्थापनामा जीवन बलिदान गर्नुहुने सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्रको अभ्यासमा सहीद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीले जीवन बलिदान दिनुभयो । उहाँहरुले सहादत प्राप्त गरेर एउटा आन्दोलनको सिर्जना भयो । २००४ सालमा नेपाली कांग्रेसको सम्मेलन भयो र त्यसमा राणा शासनको अन्त्य गर्न सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा आयो । २००७ सालकै आन्दोलनमा पनि कतिले सहादत प्राप्त गर्नुभयो । ती सहिद हुने साथीमा पनि म हृदयदेखि श्रद्धाञ्जली व्यक्त गर्छु ।”
उहाँले २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो आन्दोलनले ल्याएको मुख्य कुरा सङ्गठन गर्ने अधिकार, मानवीय अधिकार, लेखपढ गर्ने, विचार अभिव्यक्ति गर्न पाइने अधिकार प्राप्त भएको थियो । निरंकुश राणाशासन व्यवस्थामा प्रजा भन्ने चलन थियो त्यतिबेला । त्यो भन्दा पछाडि हामी नागरिक भयौं २००७ सालदेखि ।”
प्रजातन्त्र दिवसका सन्दर्भमा पुराना वामपन्थी नेता मोहनचन्द्र अधिकारीसँग गोरखापत्र अनलाइनका लागि गरिएको संवाद :
भिडियो सम्पादन : मनोजरत्न शाही र केशब गुरुङ