• १९ चैत २०८१, मङ्गलबार

बाँकेमा १४औं पटक हात्तीपाइले रोगविरुद्धको अभियान सुरु

blog

औषधी सेवन गरेर अभियानको शुभारम्भ गर्दै जिसस प्रमुख चौधरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ५ गते । १३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम फेरि सुरु गरिएको छ । बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेका बिरामी भेटिएकोले ती पालिकामा १४औं पटक औषधी खुवाउने अभियान सुरु गरिएको हो । 

नेपालगन्ज उपमहानगरपालिका ११ स्थित महेन्द्र पार्कमा एक कार्यक्रमको आयोजना गरि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरियो । कार्यक्रममा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरेर जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीलगायतले सो कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालका लागि विश्व सास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डव, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेलगायतले औषधी सेवन गर्नुभयो । 

शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले बाँके जिल्लाकै कारण देशनै हात्तीपाइले रोगमुक्त नहुने आशङ्का बढेकोले यस पटक सबैले औषधी सेवन गर्नुपर्नेमा जोड दिनुभयो । 

विश्व सास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डवले यो औषधी निकै सुरक्षित र लाभदायक रहेकोले सबैले सेवन गर्नुपर्ने जनाउँदै बाँकेमा मात्र बिरामी भेटिएकोले सबैले मिलेर अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो । भेरी अस्पतालका मेडिकल विभागका प्रमुख डा. राजन पाण्डेले यो औषधी हरेक दृष्टिकोणले सुरक्षित रहेको र यसले कुनै पनि साइड इफेक्ट नगर्ने हुँदा ढुक्क भएर खान सबैलाई आग्रह गर्नुभयो । 

सो अवसरमा बोल्ने अधिकांश वक्ताले यस पटक यो अभियान सफल पार्नुको विकल्प नरहेको बताउनुभएको थियो । शुभारम्भ कार्यक्रममा स्वास्थ्यका उच्च अधिकारीहरु, जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुकाे सहभागिता थियो ।

नेपालगन्ज उपमहानगरपालिकामा सोमवारदेखि सुरु गरिएको सो अभियान डुडुवा र नरैनापुर गाउँपालिकामा फागुन ७ गतेदेखि सुरु गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो । शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको जनाउनुभयो । सो अभियान अन्तर्गत बाँकेमा २ लाख ५७ हजार जनालाई औषधि खुवाइनेछ । 

नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना र नरैनापुरमा ४२ हजार ३६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९६२ जना गरी जम्मा २ लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताउनुभयो । उहाँले यसपटक हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समाजका अगुवाहरुले घरघरमा पुगेर सो औषधी खुवाउने कार्यक्रम रहेको बताउनुभयो ।