• ८ फागुन २०८१, बिहिबार

हिउँमा दुई दिन हिँडेर वडाध्यक्षसहित स्थानीय सदरमुकाममा

blog

नारा लेकमा हिउँमा हिँडेर आउँदै लिमीका स्थानीय। तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन ४ गते। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ सहित स्थानीय नारा लेकमा जमेको हिउँमा हिँड्दै सदरमुकाम सिमकोट पुग्नुभएको छ। व्यक्तिगत र सरकारी कामका लागि उहाँहरू लिमीबाट नारा लेकसम्म घोडामा चढेर र त केही पैदल हिँडेर सिमकोट आई पुग्नुभएको हो।

वडाध्यक्ष तामाङले लिमीबाट दुई दिनमा सदरमुकाम सिमकोट आई पुगेको बताउनुभयो। यो समय लिमीबाट हिँडेर सिमकोट आउनसक्ने अवस्था हुँदैन थियो। यसवर्ष हिमपात कम भएको कारण नारामा कम हिउँ जमेको कारण हिँडेर आउन सम्भव भएको उहाँले बताउनुभयो। 

बालबालिका र ज्येष्ठ नागरिकलाई भने तेह्र वटा घोडामा नारा लेकसम्म ल्याइएको थियो। नारा लेकमा एकदेखि दुई फिट जमेको हिउँ छिचोल्दै उहाँको टोली यारीको ठाडा ढुङ्गासम्म आएको थियो। 

नारा लेक चार हजार ६७० मिटर अग्लो उचाइबाट पार गरेर पुग्नुपर्छ। त्यहाँबाट भने बोलेरो जीपमा सिमकोट आई पुग्नुभएको हो। लिमीबाट सिमकोट आउने ४४ जना लिमीका बासिन्दा हुनुहुन्थ्यो।

 

उहाँले नारा लेकमा केही मौसम बिग्रेको कारण समस्या भए पनि अन्य त्यस्तो दुःख भने नभएको उहाँले बताउनुभयो। जसमा लिमीको हल्जी गुम्बाका लामादेखि पुजारी आउनु भएको छ। खाना भने घरबाटै तयार पारेर ल्याउनु भएको थियो। वडाध्यक्ष  तामाङले आफू काठामाडौँसम्म जाने बताउनुभयो। अन्य व्यक्ति काम विशेषले सिमकोट आउनुभएको हो।