काठमाडौँ, फागुन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठुला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो।
प्रधानमन्त्रीले नयाँ बहुवर्षीय आयोजनाका लागि स्रोत सुनिश्चित गर्दा विस्तृत आयोजना प्रतिवेदन ‘इन्जिनियरिङ डिजाइन’ स्वीकृत, वातावरणीय मूल्याङ्कनसम्बन्धी परीक्षण सम्पन्न, जग्गा प्राप्तिको प्रक्रिया टुङ्गिएको, ‘साइट क्लियरेन्स’, मध्यकालीन खर्च संरचनामा समावेश तथा खरिद गुरुयोजना तथा कार्यान्वयन योजना स्वीकृत भएको आयोजनाको कार्यान्वयन आवश्यक र औचित्यपूर्ण देखिएमा स्रोतको उपलब्धताका आधारमा मात्र स्रोत सहमति दिने कानुनी व्यवस्था गरिएको जानकारी दिनुभयो।
जवाफ दिने क्रममा उहाँले सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। उहाँले मुलुकको विकास र स्थायित्वका लागि दुई ठुला राजनीतिक दलको सरकार बनेको प्रष्ट पार्नुभयो।
मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना भइरहेको बताउनुभएका प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलबिच कुनै शङ्का उपशङ्का गर्नु जरुरी नभएको बताउनुभयो।
मेरिटोक्रेसी आलङ्कारिक भाषणको विषय नभएको बताउनुभएका प्रधानमन्त्री ओलीले चालु आबको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्नुभएको छ।
कृषकलाई भुक्तानी गर्न बाँकी रहेको दुध बिक्री रकम यथाशिघ्र भुक्तानी गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भई सकेको जानकारी गराउनुभएको छ।