माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन ३ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जित्नु भएको छ ।
भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना गरेको १९ औँ संस्करणको खुला म्याराथनमा उहाँले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्नुभयो । उहाँले नगद ५ लाख पुरस्कार प्राप्त गर्नुभयो ।
केन्याका जुलियस मुरिउकी बाहोमेले २ सेकेन्डपछि पर्दै दोस्रो बन्नुभयो । उहाँले २ घन्टा १७ मिनेट २६ सेकेन्डमा दुरी पार गर्दा केन्याकै ओनेस्मस गिताउ न्जोरोगे २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो बन्नुभयो । दोस्रो बन्नु भएका जुलियसले ३ लाख र तेस्रो हुनु भएका ओनेस्मसले २ लाख नगद पाउनु भयो ।
चौथो नेपालका किरणसिंह बोगटे, पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बन्नुभयो ।हाफ म्याराथनमा पुरुषतर्फ सन्तोष विक्रम विष्ट र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जित्नु भयो । सन्तोषले एक घन्टा ९ मिनेट ७ सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ३ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
पुरुषतर्फ गजेन्द्र राई दोस्रो र केन्याका इमानुएल किप्टारबेई तेस्रो र महिलातर्फ स्वारोन जेनोटिच दोस्रो र पुष्पा भण्डारी तेस्रो बन्नुभयो । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार नगद पाउनुभयो ।
पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार नगद पुरस्कार प्रदान गरियो । मञ्चका अनुसार विभिन्न १४ वटा विधामा प्रतिष्पर्धा गराइएको थियो ।