जय सत्यवती बज्यै !
भाकल लिएर आएको छु, चिनिदिनु होला ।
जय बैरी माता !
मनले चिताएको पुर्याइदेऊ ।
लोक सेवामा नाम निकाल्न परो ।
चिच्याएर वर माग्ने देवता भनेपछि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–४ अवस्थित सत्यवती भनेर प्रस्टै चिनिन्छ । सदियौँदेखि यसै गरी सत्यवती बज्यैसँग चिच्याएर वर माग्ने, भाकल बुझाउने रीतिथिति रहेको छ । यस स्थलमा पुगेर सबैले सुन्ने गरी चिच्याएर वर मागे मात्र पूरा हुने जनविश्वास रहेको छ । हात हातमा बाँस, निगालो, सालको लिङ्गो, पूजाका सार्दम, भाकल अनुसारका पशुपन्छीसहित सत्यवती मन्दिर जानेको लर्कोले अध्यात्म, भक्ति मात्र होइन सामाजिक सम्बन्धलाई समेत उजागर गर्दै आएको छ ।
सत्यवतीलाई कान कम सुन्ने बज्यै भनेर विश्वास गरिन्छ । धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको सत्यवतीमा पुग्ने जोकोही भक्तजनले चिच्याएरै वर मागेको सुन्न सकिन्छ । विशेष गरी तिहारपछिको पूर्णिमाका दिन सत्यवती मेला लाग्ने गर्छ । उक्त पूर्णिमा कात्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वाससमेत रहेको छ ।
भक्तजनले लिएर गएको बाँस, निगालो, सालको लिङ्गोलाई रातको समयमा तालमा गाड्छन् । आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यहाँ पूजा गरेपछि मात्र घर फर्किने परम्परा रहेको छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । टाढा टाढाबाट मन्दिर दर्शन गर्न पुगेका भक्तजनले ताल वरिपरि घुम्दै, चिच्याउँदै मध्यरातमा वर माग्दै गरेको दृश्य रोचक र अनौठो देखिन्छ । लोक सेवामा नाम निकाल्ने, विदेशका लागि भिसा लगाउने, छोराछोरी माग्ने जस्ता भक्तजनले अनेकन भाकल लिएर सत्यदेवी मन्दिर पुगेका हुन्छन् । कतिपयले छोराछोरीको भविष्यका लागि त कोही बाआमाको स्वास्थ्यलाभका लागि वर मागेको सुन्न देख्न पाइन्छ । यी आवाजले मन्दिर वरपर गुञ्जायमान बनिरहेको हुन्छ । ताललाई तीन पटक घुम्दै वर माग्नुपर्ने प्रचलन त्यहाँ छ । राता, पहेँला रङ्गीबिरङ्गी ध्वजापताकाले मन्दिरको महिमा गान गाइरहेको देखिन्छ ।
तालनजिकै रहेको मन्दिरमा बोका, पाठीलगायतको बलि चढाउनुका साथै परेवा उडाउने प्रचलनसमेत छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पूजा गर्न विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्छन् । यहाँ परापूर्वकालदेखि नै वर माग्न र मेला भर्न पाल्पा जिल्लाका साथै वरपरबाट भक्तजन आउने गरेका पाइन्छ । गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवा, सुनौलीलगायतका क्षेत्रबाट पनि ठुलो सङ्ख्यामा पूजाआजा गर्न सत्यवती आउने गरेका छन् ।
किंवदन्ती अनुसार परापूर्वकालमा पवित्र र सुन्दर ठाउँ खोज्ने र बास बस्ने क्रममा सत्यवती बज्यै यो स्थानमा आएका हुन् । सत्यवतीमाईका धेरै दिदीबहिनीमध्ये एक बहिनीलाई यो स्थान मन परेपछि उहाँले नै सरसफाइ गरी यो स्थलको निर्माण गरेको बताइन्छ । मनकामना देवीकै एक दिदीबहिनीमध्ये सत्यवती देवी भएको जनविश्वास छ । यो स्थान मन परेपछि तपस्या गर्ने भनेर वरिपरि सरसफाइ गर्ने, बढारकुँढार गर्ने क्रममा सत्यवतीमाईले कुभिन्डोको भाँडामा पानी बोकेर ल्याउनुभएछ । बुढी भएकी सत्यवती बज्यैले कान कम सुन्नु हुँदो रहेछ । कुभिन्डोको भाँडामा भएको पानी लिपपोत गर्ने क्रममा अचानक पोखिएको र सत्यवती तालको स्थापना भएको हो भन्ने जनश्रुति छ । सत्यवती बज्यै घना जङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको बताइन्छ । बज्यैले तपस्या गरेको स्थानमा सत्यवतीमाईको मन्दिर र बज्यैको मूर्ति स्थापना गरिएको स्थानीयले बताउँछन् । यसै कारण शक्तिस्वरूपा माईसँग वर मागे पूरा हुने जनविश्वास रहिआएको उनीहरूको भनाइ छ ।
परम्परागत मान्यता अनुसार सत्यवतीमाईमा आएर झुटो बोल्नेहरू यहीँको तालमा विलय हुन्छन् भन्ने छ । किंवदन्ती अनुसार मध्यरातमा सरसफाइ गरिरहेकी सत्यवती बज्यैलाई त्यहाँ गाई चराउन गएका एक बालकले देखेछन् । उनले पोखरीमा बज्यैले प्रयोग गर्ने सुनको काइँयो भेट्टाएछन् । बज्यैले बालकलाई उक्त कुरा कसैलाई नभन्न र सुनको काइँयो घर लिएर जान अह्राउनु भएछ तर घर गएपछि ती बालकले बज्यैको विषयमा सबैतिर हल्ला गरेछन् । यसलगत्तै ती बालक त्यही विलय भएको किंवदन्ती छ । यसै कारण पनि यहाँ आएर कसैले पनि झुटो बोल्न नहुने भनाइ छ । यहाँ वर माग्दा झुटो कुरा बोल्न हुन्न र वर मागिसकेपछि पछाडि नफर्की हिँड्नु पर्छ भन्ने मान्यता छ । भाकल गर्न र भाकल पूरा भएपछि पनि पूजा गर्न भक्तजन यहाँ पुग्ने गर्छन् । मलमास परेको वर्ष यहाँ मेला लाग्दैन । यो मन्दिरमा कुखुरा र सुँगुरको बलि चढाउन हुन्न भनिन्छ । यहाँको गाउँमा समेत सुँगुर पाल्न निषेध प्रायः छ ।
सत्यवती पुग्ने कसरी
पाल्पा जिल्लाको सदरमुकाम तानसेन हुँदै सत्यवती ताल पुग्न करिब दुई घण्टा लाग्छ । पाल्पा–तानसेन सडक अर्थात् सिद्धार्थ राजमार्गको चौबिस माइलबाट करिब दुई घण्टा उकालो पैदलयात्रापछि सत्यवती मन्दिरमा पुग्न सकिन्छ । रुपन्देहीको बुटबल उपमहानरपालिका क्षेत्रबाट आउँदा दोभानको झुम्सा पानी मिलबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्ने हुन्छ । करिब छ किलोमिटर उकालो यात्रा सकेपछि सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । सत्यवती तालमा पर्यटकका लागि काठबाट निर्मित एउटा भ्यु टावरको झल्को दिने मचान निर्माण गरिएको छ । यसमा चढेर वरिपरिका गाउँ एवं प्राकृतिक मनोरम दृश्यको अवलोकन गर्न सजिलो भएको छ । यसै गरी नजिकैको गाउँमा १० घरभन्दा बढीमा घरबास सञ्चालनमा ल्याइएको छ । यसै कारण यहाँ जाने पर्यटकका लागि बास बस्न सजिलो भएको छ । पर्यटकले त्यहाँ पाइने स्थानीय एवं परम्परागत खानाका परिकार जस्तै बटुक, सेलरोटी, चुकाउनीको स्वादसमेत लिन सक्ने छन् । सत्यवती तालसम्म पुग्न केबुलकारको निर्माण गर्नेबारेमा स्थानीय निकायमा बहस चलेको बताइएको छ । मन्दिरमा हरेक दिन पूजापाठ हुने गर्छ तर विशेष मेला भने कात्तिके पूर्णिमाको दिन मात्र लाग्छ । यहाँ लाग्ने मेलालाई नेपालमै महत्वपूर्ण मेलाका रूपमा चिनिन्छ । सत्यवतीमाई स्थान पाल्पाको मात्रै नभएर नेपालकै प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित छ । यति मात्र होइन प्राकृतिक विविधता, जैविक विविधता, थरीथरीको जलचल, थलचरको उपस्थितिले सत्यवतीमाई परिसरमा मनमोहकता छाएको छ । पर्यापर्यटन, प्राचीनता र धार्मिक महìवका दृष्टिले यो क्षेत्र महत्वपूर्ण रहेको धेरैको बुझाइ छ ।
चार रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र सीमसार क्षेत्रमा रहेको दुर्लभ तालका रूपमा रहेको पाइन्छ । चुरे र सिमसार क्षेत्रमा कमै मात्रामा ताल हुने र त्यसमध्येकै यो एउटा महत्वपूर्ण ताल रहेको जानकारहरूको बुझाइ छ । यसै कारण चुरेपहाडको आडैमा रहेको सत्यवती ताल पाल्पा जिल्ला र यो क्षेत्रकै महìवपूर्ण गहनाका रूपमा हेर्ने गरिन्छ ।
धार्मिक, ऐतिहासिक तथा जैविक विविधताका दृष्टिकोणले महìवपूर्ण पाल्पाको सत्यवती तालमा भक्तजनको भक्ति, श्रद्धा, आस्था र विश्वासलाई हेर्दा यस क्षेत्रको धार्मिक महत्व झल्किन्छ । रातभरि जाग्राम बसी गरिने पाठपूजा विधि एवं चिच्याएर मागिने वर नै यहाँको आकर्षणको केन्द्रविन्दु बनेको छ । सत्यवतीमाईले तपस्या एवं स्थापना गरेको ठाउँ भएका कारण यसलाई ऐतिहासिक ठाउँका रूपमा समेत हेर्न सकिन्छ । यस्तै करिब ७४ प्रतिशत मगर जातिको वासस्थान रहेको यस स्थानमा मगर संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । पहाडको उच्च भागमा रहेको सत्यवती ताल क्षेत्र सधैँ चिस्यान रहने हुँदा शीतल हावाका लागि पर्यटक यहाँ आउन सक्छन् । प्राकृतिक विविधता, वन बुट्यान एवं यहाँ अवस्थित वातावरणले सत्यवतीमाई परिसर जैविक विविधताको हिसाबले समेत महìवपूर्ण रहेको छ ।