केही दिनअघि एल साल्भाडोरका राष्ट्रपति नायब बुकेलीले अमेरिकाबाट निकाला भएका कुनै पनि देशका नागरिक स्वीकारेर जेलमा राख्न सहमति जनाएको घटनाले विश्व नै तरङ्गित भएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले साल्भाडोरले केही हिंस्रक अमेरिकी नागरिक अपराधीसमेत स्वीकार गर्ने सहमति भएको जनाएका थिए । रुबियोको भनाइपछि एक अमेरिकी अधिकारीले ट्रम्प प्रशासनको हाल अमेरिकी नागरिकलाई निर्वासित गर्ने कुनै योजना नभएको तर बुकेलीको प्रस्ताव महìवपूर्ण भएको बताएका थिए ।
सो सहमतिसँगै विश्वभर एल साल्भाडोरको जेलबारे जिज्ञासा राख्नेको सङ्ख्या मात्रै बढेको छैन, अमानवीय यातना देखिने भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनेका छन् । सामाजिक सञ्जालमा देखिएको उक्त भिडियो मानिसको मथिङ्गल हल्लाउने खालका मात्रै छैनन्, मानव अधिकारलाई समेत चुनौती दिएको देख्न सकिन्छ । बिबिसी, सिएनएन, एपीलगायतका विश्वचर्चित मिडियाले पनि मानव अधिकारको विषय उठाएर भिडियो लगातार सावर्जनिक गर्न थालेका छन् । एल साल्भाडोरको जेलबारे सार्वजनिक भएका भिडियो र अध्ययन हेर्दा यो जेल विशाल मात्रै छैन, मानव अधिकारको सामान्य मापदण्ड पनि पूरा नभएको देखिन्छ ।
किन कठोर बने राष्ट्रपति बुकेली ?
सन् १९९० को दशकमा १३ वर्षे लामो गृहयुद्धको असरका कारण एल साल्वाडोरको स्थिति नाजुक बनेको थियो । सोही लामो गृहयुद्धपछि उक्त देशमा दुई ठुला राजनीतिक पार्टीहरूको उदय भएको थियो । सन् १९९२ मा लोकतन्त्र आए पनि दक्षिणपन्थी एरिना पार्टी र वामपन्थी एफएमएलएन पार्टीको शासनकालमा व्यापक भ्रष्टाचार भएपछि जनता पुनः निराश बनेका थिए । सोही निराशामा मलम लगाउन हालका राष्ट्रपति बुकेलीले जनताका समस्या समाधान गर्ने वाचा गर्न थाले । उनको फरक शैली र हाउभाउकै कारण जनताले उनलाई मन पराउन थाले । नायब बुकेलीले आफ्नो राजनीतिक यात्रा फाराबुन्डो मार्टी नेसनल लिवरेसन फ्रन्ट पार्टीबाट सुरु गरेका थिए । सन् २०१२ मा नुएभा कुस्काटलान नगरपालिकाको मेयर बनेर राजनीतिक जीवनलाई निरन्तरता दिन थाले ।
उनले हरेक भाषणमा भन्थेँ, “जसले तपाईंलाई लुटेका छन्, अन्याय गरेका छन्, तिनीहरूलाई म दण्ड दिनेछु,” उनको नयाँ शैलीका कारण जनता उनलाई समर्थन गर्न थाले । यस अवधिमा उनले डिजिटल प्रविधिको प्रयोग गर्दै सहरको व्यवस्थापनलाई आधुनिक बनाउने काम गरे । सान साल्भाडोरलाई स्मार्ट सिटीमा बदल्ने योजनाले उनलाई लोकप्रिय बनायो ।
परम्परागत दलहरू एरिना र एफएमएलएनबाट निराश भएका बुकेलीले २०१८ मा आफ्नो नयाँ राजनीतिक पार्टी नुएभास इडेआस स्थापना गरे । यो पार्टीले नयाँ सोच, भ्रष्टाचारविरुद्ध लडाइँ र जनताको समस्यालाई प्राथमिकता दिने नीति ल्याएर थप चर्चित बन्यो । अनि, नायब बुकेलीले २०१९ मा आफ्नो पार्टीबाट राष्ट्रपतिको चुनाव लडे । उनले ५३ प्रतिशत मत प्राप्त गर्दै परम्परागत दुई मुख्य दल एरिना र एफएमएलएनलाई पराजित गरे । उनी ३० वर्षभन्दा लामो समयपछि अल साल्भाडोरका गैरपारम्परिक दलका राष्ट्रपति बने । राष्ट्रपति बन्ना साथ उनले भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र अपराध नियन्त्रणलाई प्राथमिकता दिए ।
राष्ट्रपति नायब बुकेलीको प्रशासनले गुण्डागर्दीविरुद्धको १३ महिनाको अभियानमा दसौँ हजारलाई पक्राउ मात्रै गरेन उनीहरूमाथि कठोर कारबाहीसमेत गरेको छ । कार्यकाल समालेको तीन सय ५४ दिनमै बुकेली प्रशासनले करिब ६५ हजार सन्दिग्ध पक्राउ गरेर कडा भन्दा कडा कारबाही गरेको थियो । कुनै बेला विश्वकै सबैभन्दा खतरनाक मुलुक मानिने एल साल्भाडोरले एकै वर्ष ११४ हत्याका घटनाका साथ नयाँ सुरक्षा रेकर्ड कायम गरेको थियो । जसले लगभग ६० लाख जनसङ्ख्या रहेको देशमा बुकेलीको लोकप्रियता झनै चुलिएर गएको छ ।
भिडियोमा के छ ?
राष्ट्रपति बुकेलीले राजधानी सान साल्भाडोरबाट ७५ किलोमिटर टाढा एउटा सुपरम्याक्स जेल निर्माण गरेका छन् । जुन जेलमा ग्याङका सदस्यहरूलाई राखिन्छ भने कैदीलाई टाउको मुण्डन गरेर, हात र गोडामा हत्कडी बाँधेर कठोर अवस्थामा राखिएको छ । हथकडी लगाइएका धेरै कैदीबन्दीलाई स्थानान्तरणका क्रममा निहुँरीमुन्टी लगाएर खाली खुट्टा दौडिन बाध्य पारियो । त्यसपछि उनीहरूलाई जमिनमा बस्न बाध्य पारिएको छ ।
उनीहरूले सेतो सर्ट र तल सेता कट्टु मात्र लगाएका छन् । अधिकांश कैदीबन्दीका जिउभरि डरलाग्दा आकृतिका ट्याटु देखिन्छ भने भेडाबाख्रा जसरी उनीहरूलाई जेलमा कोचेको दृश्यमा प्रस्ट देख्न सकिन्छ । सन् २०२३ मा बुकेलीले चालिस हजार कैदी अट्ने ठुलो जेल खोलेका थिए । त्यहाँ केवल दिनमा एक पटक खाना दिइने घोषणा गरिएको थियो । त्यहाँ कैदीहरूले कसैसँग भेटघाट गर्न पाउँदैनन् न त उनीहरूलाई समाजमा पुन स्थापित गराउने कुनै कार्यक्रम वा तालिम नै दिइन्छ ।
मानव अधिकारकर्मीले भने यस प्रकारका कदमले संविधान र मानव अधिकारका सिद्धान्तलाई चुनौती दिएको बताउँछन् । ग्याङ हिंसाबाट पीडित जनता यी कठोर कदमको समर्थन गर्न भने तयार भएका छन् । अमेरिकी विदेश मन्त्रालयले एल साल्भाडोरका जेलहरूलाई कठोर र खतरनाक बताउँदै आएको छ । विशाल जेलमा सरसफाइ, पिउने पानी, हावाको आवतजावत, तापमान नियन्त्रण र प्रकाशको व्यवस्था अपर्याप्त वा नभएको अवस्थामा रहेको विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ ।
मार्च २०२२ देखि एल साल्भाडोर सङ्कटकालको अवस्थामा थियो । त्यसपछि बुकेलीले कानुनी पहुँच जस्ता मौलिक अधिकार निलम्बन गर्दै ८३ हजारभन्दा बढी मानिसलाई कानुनी प्रक्रिया बिना नै पक्राउ गराएका थिए । प्रहरीले जोसुकैलाई कारण नबताइ पक्राउ गर्न सक्ने व्यवस्था भए पनि पक्राउ परेकालाई वकिल राख्ने अधिकार पनि उनले दिएका छैनन् । उनीहरूलाई न्यायाधीशसमक्ष पेस नगरी १५ दिनसम्म हिरासतमा राख्न सकिने अधिकार प्रहरीमा निहित छ । स्थानीय अधिकार समूह क्रिस्टोसलले बितेका वर्षमा मानव अधिकार हननका हजारौँ घटना भएका अभिलेखीकरण गरेको छ ।
मानव अधिकार र लोकतन्त्र हरणको प्रश्न
नायब बुकेलीका नीतिले अल साल्भाडोरमा हिंसालाई उल्लेखनीय रूपमा घटाए पनि यसले मानव अधिकार उल्लङ्घन र लोकतन्त्रको क्षयीकरणको विषयमा भने गम्भीर प्रश्न उठाएको छ । उनले हिंसा नियन्त्रणका नाममा डिसेम्बर २०२३ सम्म ७२ हजार भन्दा बढीलाई गिरफ्तार गरेर धेरैलाई बिना प्रमाण लामो समयसम्म हिरासतमा राखेका थिए । तथ्याङ्क हेर्ने हो भने पनि २०२३ को अन्त्यसम्ममा अल साल्भाडोरमा एक लाखभन्दा बढी कैदी रहेका थिए । जुन देशको कुल जनसङ्ख्याको १.७ प्रतिशत र विश्वकै उच्च कैद दर हो ।
लन्डन विश्वविद्यालयका व्याख्याता क्याथरिन साउन्डर्स हेस्टिङ्सका अनुसार, “अल साल्भाडोरमा अपराधका कारण हत्या दर निकै उच्च थियो । २०१६ मा प्रति लाख जनसङ्ख्यामा १०६ हत्या भएका थिए, जुन विश्वमै सबैभन्दा उच्च दर हो ।” २०२२ मा ग्याङ हिंसाले विकराल रूप लिएपछि राष्ट्रपति बुकेलीले आपत्काल घोषणा गरे । संविधानका धेरै प्रावधान र निजी स्वतन्त्रता निलम्बित गरियो ।
त्यत्ति मात्रै होइन, उनले १२ वर्षका बालबालिकासम्मलाई आपत्कालीन शक्तिको आधारमा हिरासतमा लिएका थिए । जुन विषय मानव अधिकार र बाल अधिकारको रक्षाको विपरीत छ । अझ तथ्याङ्क हेर्दा २०२३ को अन्त्यसम्ममा १५३ कैदीको जेलमै मृत्यु भएको रिपोर्ट सावर्जनिक भएको छ । जसको कारणमा शारीरिक र मानसिक यातना, स्वास्थ्य सेवाको अभाव र खानपान प्रमुख कारण भएको विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राष्ट्र मानव अधिकार आयोग र एम्नेस्टी इन्टरनेसनलले बुकेलीका नीतिलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेर चर्चा गर्दै आएका छन् । उनका छिमेकी देश र स्वयम् अमेरिकाले पनि अत्यधिक गिरफ्तारी, पारदर्शिताको कमी र कैदीमाथिको यातनाबारे धारणा सावर्जनिक गरेको थियो ।
बुकेलीले मानव अधिकारसँगै लोकतन्त्रको पनि चिरहरण गरेको चर्चा हुँदै आएको छ । सन् २०२२ को मार्चमा आपत्कालीन स्थिति घोषणा गरेर बिनामुद्दा जेलमा राख्न पाउने कानुनी व्यवस्था, खुला ठाउँमा भेला हुने स्वतन्त्रताको हनन गराएका थिए । त्यत्ति मात्रै होइन, एक पटक मात्रै राष्ट्रपति बन्न पाउने व्यवस्थालाई मिचेर उनी सन् २०२१ मा लोकप्रिय मतसहित दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित भएका थिए । उक्त देशको संविधानको धारा १५२ ले भने दोस्रो कार्यकाल राष्ट्रपतिमा दोहोरिन पूर्ण प्रतिबन्ध लगाएको छ । धेरै कानुनी विज्ञ र विपक्षी दलहरूले यो निर्णयलाई कानुनी शासनविरुद्ध र अधिनायकवादी प्रवृत्तिको सङ्केत भनेर आलोचना पनि गरेका थिए ।
नायब बुकेलीको हिंसा नियन्त्रणको कठोर नीतिले अल साल्भाडोरमा सुरक्षा सुधार गरे पनि मानव अधिकार उल्लङ्घन र लोकतन्त्र क्षयीकरणको विषयलाई गम्भीरताका साथ उठाएको छ । मानव अधिकार र अपराध नियन्त्रणमा सन्तुलन कायम गर्नु बुकेली सरकारका लागि ठुलो चुनौती बनेको छ ।